काठमाडौँ– आज (बिहीबार) संघीय संसद अन्तर्गत छ वटा समितिहरूको बैठक बस्दैछन् ।
जसअनुसार, बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना सम्बन्धमा छलफल हुने कार्यसूची छ।
यस्तै, दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकबैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची छ । यो सँगै दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुने कार्यसूची पनि रहेको छ।
यसैगरी, दिउँसो १ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची छ।
यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफलको कार्यसूची तय गरेको छ।
त्यस्तै, दिउँसो १ बजेका लागि नै बोलाएको सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औँ वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची छ।
त्यसैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको संघीय संसद सचिवालयले जनाएको छ।