काठमाडौँ– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका छन्।
आज (आइतबार) सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप समेत लगाए। बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए।
सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको अगामी दिनहरूमा हेक्का राख्न चेतावनी दिए। शिक्षक महासङ्घसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत असार १६ गतेदेखि समय माग्दै आएका छन्।