६,९३४ निजामती कर्मचारीले असाधारण, अध्ययन तथा बेतलबी बिदा उपयोग गरे, १,३७३ को विवरण शुद्धीकरण हुँदै - Chaitanya News
  • 2026-06-07
  • 22:37:26
  • आइतबार,जेठ २४, २०८३
  • ६,९३४ निजामती कर्मचारीले असाधारण, अध्ययन तथा बेतलबी बिदा उपयोग गरे, १,३७३ को विवरण शुद्धीकरण हुँदै

    ६,९३४ निजामती कर्मचारीले असाधारण, अध्ययन तथा बेतलबी बिदा उपयोग गरे, १,३७३ को विवरण शुद्धीकरण हुँदै

    काठमाडौँ– ६,९३४ निजामती कर्मचारीले असाधारण, अध्ययन तथा बेतलबी बिदा उपयोग गरेका छन्। राष्ट्रिय किताबखानाले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार ६,९३४ निजामती कर्मचारीले असाधारण, अध्ययन तथा बेतलबी बिदा उपयोग गरेका छन् ।

    यस्तै, विगत १० वर्षदेखि निष्क्रिय देखिएका १,३७३ कर्मचारीको विवरण शुद्धीकरणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ।

    राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले भने बिदा उपयोगसम्बन्धी अद्यावधिक तथ्यांक विभागको प्रणालीमा शुद्धता कायम गर्न सुरु गरिएको विशेष शुद्धीकरण अभियानको हिस्सा हो। तथ्यांकअनुसार १,५६० कर्मचारीले बेतलबी असाधारण बिदा, ५ जनाले उपचारका लागि तलबी असाधारण बिदा, ३,९१८ जनाले तलबी अध्ययन बिदा, १,४४२ जनाले बेतलबी अध्ययन बिदा र ९ जनाले परिवारका सदस्य विदेशी नियोगमा कार्यरत हुँदा उपयोग हुने बेतलबी बिदा लिएका छन्।

    यसैगरी विभागले बिदा उपयोग गरेर सेवामा फर्किएका वा नफर्किएका कर्मचारीको विवरण अद्यावधिक गर्न र अभिलेखमा रहेका त्रुटि सच्याउन आफ्नो वेबसाइटमा विस्तृत विवरण सार्वजनिक गरेको छ। कर्मचारीहरूले स्वयं उपस्थित भएर वा विभागको इमेलमार्फत सप्रमाण कागजात पठाएर आफ्नो विवरण अद्यावधिक वा शुद्धीकरण गर्न सक्नेछन्।

    १० वर्षदेखि सम्पत्ति विवरण नबुझाएका वा कुनै विवरण अद्यावधिक नगरेका १,३७३ कर्मचारीको अभिलेख फेला परेको छ। यस्तो स्थिति राजीनामा, अवकाश वा माथिल्लो तहमा बढुवा भएर पनि अभिलेख शुद्धीकरण नहुँदा सिर्जना भएको हुन सक्ने विभागको अनुमान छ। यस्ता विवरणको वास्तविकता पत्ता लगाउन र प्रणालीबाट शुद्धीकरण गर्न विशेष टोली परिचालन गरिएको छ।