लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 15:52:28
  • बुधबार,बैशाख ३०, २०८३
  • लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    बुटवल– आज (बुधबार) लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठक बस्ने तय भएको छ। बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ।

    आज दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए।

    मंगलबार बसेको प्रदेश सभाको १५ औँ बैठकले ‘आर्थिक वर्ष २०८२–०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो। साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुङ्गिएको सभामा जानकारी गराएका थिए।

    १४ औँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बहिस्कार गरेका थिए। तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछि सदन अघि बढेको थियो । जुन बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । बजेट माथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्चाउन माग राखेको छ।