काठमाडौँ– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अर्ली महाधिवेशन माग गरेकी छन्। हिजो ( शनिबार) पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने बताइन्।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने उनको धारणा छ।
यस्तै उनले भनिन् ‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? आफ्नै प्रश्नमा झाँक्रीले आफैं उत्तर दिइन्, ‘अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने ?आइदर अर्ली महाधिवेशन गरौँ अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनाऔँ।
यसै सन्दर्भमा उनले अब काँधमाथि ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने टिप्पणीसमेत गरिन्।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन रु गरौँ न त अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ ।’ अहिलेकै केन्द्रीय समितिबाट पार्टी नबन्ने र छिटो विघटन हुने चेतावनी पनि उनले दिइन्।