मेघराज पोखरेललाई महेश बर्तौलाले भने: न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुस् - Chaitanya News
  • 2026-05-13
  • 16:31:08
  • बुधबार,बैशाख ३०, २०८३
  • मेघराज पोखरेललाई महेश बर्तौलाले भने: न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुस्

    मेघराज पोखरेललाई महेश बर्तौलाले भने: न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुस्

    काठमाडौं– नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन्।

    आज (आइतबार) संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि आफ्ना धारणा राख्दै बर्तौलाले न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुन सुझाव दिएका हुन्।

    पोखरेलले विगतमा सक्रिय राजनीति गरेको र व्यापारिक घरानाबाट प्रभावित हुने गरेको भन्दै बर्तौलाले न्यायाधीश नबन्न सुझाव दिएका हुन्।

    ‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ,’ बर्तौलाले भने, ‘तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस् यो मेरो व्यक्तिगत सुझाव हो।

    त्यसअघि बर्तौलाले पोखरेल व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै एक बैंकको सञ्चालक समेत बनेको पाइएको बताएका थिए। ‘तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिकामा, जिम्मेवारीमा रहनु भए पनि विशुद्ध तपाईंको हृदय चाहिँ केही चर्चित व्यवसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नु हुन्छ भन्ने तपाईंमा प्रश्न छ,’ बर्तौलाले भने, ‘यो कानुन वृत्तमा पनि, न्यायिक क्षेत्रमा पनि, व्यवसायिक क्षेत्रमा त्यो कुरा तपाईंका बारेमा लाउँछन्।

    उनले प्रश्न गरे, ‘व्यवसायिक घरानाहरुसँग बढ्ता तपाईं बफादार भएर वकिलको हिसाबले वकालत होइन, व्यवसायिक घरानाको प्रतिनिधिकै हिसाबले पनि यहाँले काम गर्नुहुन्छ भन्ने, यहाँको बसउठ त्यस्तो रहन्छ भन्ने एउटा बुझाइ छ । यो होइन भन्ने कुरा तपाईंले कसरी भन्नुहुन्छ ?

    हरिकृष्ण कार्की कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा हुँदा तत्कालीन सर्वोच्च बारको अध्यक्ष रहेका पोखरेलले कार्की माथि प्रश्न उठाएको र आफूले व्यवसायिक हितका लागि काम गर्छु भनेर बोलेको स्मरण समेत बर्तौलाले गरे।