तोमनाथ उप्रेती:
उपसचिव,नेपाल सरकार:
पूर्वीय दर्शन संसारका प्राचीनतम र गहिरा दार्शनिक परम्पराहरू मध्ये एक हो, जसले जीवनको गहिरो अर्थ खोज्न मद्दत गर्छ। यसको मूल आधारहरूमा सत्य, कर्म, नैतिकता र आत्मज्ञान महत्वपूर्ण भूमिका खेल्छन्।सत्यलाई पूर्वीय दर्शनले सर्वोच्च मानिन्छ। सत्यको खोजी नै जीवनको मुख्य लक्ष्य हो। यसले भ्रम र अज्ञानताबाट मुक्त भएर वास्तविकता बुझ्न सहयोग गर्छ। कर्मको सिद्धान्तले बताउँछ कि हरेक कार्यको परिणाम हुन्छ। राम्रो कर्मले राम्रो फल ल्याउँछ भने खराब कर्मले दुःख दिन्छ। त्यसैले कर्ममा सावधानी र जिम्मेवारी अत्यावश्यक छ।
नैतिकता जीवनको मार्गदर्शक हो जसले मानवीय सम्बन्ध, समाज र प्रकृतिसँग सही व्यवहार गर्न सिकाउँछ। पूर्वीय दर्शनले नैतिकता र धर्मलाई जीवनका अभिन्न अङ्गका रूपमा स्वीकार गरेको छ।अन्ततः आत्मज्ञान, अर्थात् आत्माको सच्चा पहिचान, जीवनको सर्वोच्च उपलब्धि हो। आत्मज्ञानले मानिसलाई मोक्षको मार्ग देखाउँछ, जहाँ दुःख र भ्रमबाट मुक्त भई शान्ति र मुक्तिको अनुभूति हुन्छ।यसरी पूर्वीय दर्शनले सत्यको खोजी, कर्मको जिम्मेवारी, नैतिक आचरण र आत्मज्ञानमार्फत जीवनलाई सार्थक र पूर्ण बनाउने मार्ग निर्देश गरेको छ। यो दर्शनले आजको आधुनिक समाजमा पनि जीवनका गहिरा प्रश्नहरूको उत्तर खोज्न प्रेरित गर्छ।
पूर्वीय दर्शन जीवन, जगत् र कर्मको गहिरो अध्ययन हो जसले सत्य, ज्ञान, नैतिकता र आत्माको महत्वलाई प्राथमिकता दिन्छ। यस दर्शनमा कर्मलाई जीवनको आधार मानिन्छ जहाँ प्रत्येक व्यक्तिको कार्यले उसको वर्तमान र भविष्य निर्धारण गर्छ। कर्मको सिद्धान्तले मानवलाई सदाचार, दायित्व र नैतिकताप्रति सचेत बनाउँछ। पूर्वीय दर्शनले धर्म, संस्कार, योग, ध्यान र आत्मज्ञानलाई जीवनको मार्गदर्शनका रूपमा प्रस्तुत गरेको छ।
नेपाल र दक्षिण एसियाली संस्कृतिमा पूर्वीय दर्शनका हिन्दू, बौद्ध, जैन जस्ता दर्शनहरूले मानिसको आचरण र सामाजिक जीवनलाई आकार दिएका छन्। विशेष गरी बौद्ध धर्मका चार आर्यसत्य र अष्टाङ्गिक मार्गले दुःखको अन्त्य र शान्तिको मार्ग देखाउँछन्। हिन्दू दर्शनले कर्म, धर्म र मोक्षलाई जोड दिंदै जीवनलाई आध्यात्मिक उन्नतिका लागि प्रेरित गर्दछ।पूर्वीय दर्शनले आत्मा अमर र शरीर नश्वर मान्छ र प्रत्येक कर्मको फलप्रति जिम्मेवार हुन सिकाउँछ। यसले मानवीय जीवनलाई अनुशासन, नैतिकता र आत्ममूल्यांकनको माध्यमबाट व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा सन्तुलन र समृद्धि ल्याउने उपदेश दिन्छ।
पुर्वीय दर्शनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय दर्शनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ । वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग वाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन दर्शनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय दर्शनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय दर्शनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । पूर्वीय दर्शनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
पूर्वीय दर्शनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा पूर्वीय दर्शनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । पूर्वीय दर्शनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ । पूर्वीय दर्शनमा नश्वरतालाई दुःखको कारण मानिएको छ। संसार आवागमन, जन्म–मरण र नश्वरताको केन्द्र छन्। यस अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन नैं मोक्ष छ। प्रायः सबै दार्शनिक प्रणालीहरूले संसारका दुःख मय स्वभावलाई स्वीकार गरे छ र यसले मुक्त हुनेको लागि कर्ममार्ग या ज्ञानमार्गको बाटो अपनाएको छ। मोक्ष यस प्रकार जीवनको अन्तिम परिणति हो। यसलाई पारपार्थिक मूल्य मानेर जीवनका परम उद्देश्यका रूपमा स्वीकार गरिएको छ। मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ। फलतः सबै प्रणालीहरूमा मोक्षको कल्पना प्रायः आत्मवादिएको छ। अंततोगत्वा यो एक वैयक्तिक अनुभूति नैं सिद्ध हुन पाउँछ।
पूर्वीय दर्शनमा कर्म र नैतिकता जीवनका आधारभूत सिद्धान्तहरू हुन्, जसले व्यक्तिको जीवनको मार्ग निर्देशन गर्छ। कर्मको अर्थ हो—हरेक कार्य र त्यसको परिणाम। यस दर्शनअनुसार, हरेक व्यक्तिले आफ्ना कर्मका लागि जिम्मेवार हुन्छ र तिनले नै भविष्यको सुख–दुःख निर्धारण गर्छन्। राम्रो कर्मले सुखद परिणाम ल्याउँछ भने खराब कर्मले दुःख र पिडा।
नैतिकता भनेको जीवनमा सही र गलतको विवेक हो, जसले समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न सहयोग गर्छ। पूर्वीय दर्शनले नैतिकतालाई धर्मको रूपमा मान्छ र मानवीय आचरणलाई यसको आधार बनाउँछ। नैतिक आचरणले मात्र मानिस समाजमा सम्मान र विश्वास प्राप्त गर्छ।यस दर्शनमा कर्म र नैतिकता अविछिन्न छन्। राम्रो कर्म गर्नका लागि नैतिकता आवश्यक हुन्छ भने नैतिक जीवनयापनको लागि कर्मको सही मार्ग अनुसरण गर्नुपर्छ। आत्मज्ञान प्राप्तिका लागि पनि यी दुई महत्वपूर्ण छन्, किनभने कर्म र नैतिकता बिना आत्मा शान्त र मुक्त हुन सक्दैन।यसरी, पूर्वीय दर्शनले कर्म र नैतिकतालाई जीवनका अविभाज्य अंग मान्दै, मानिसलाई सधैं सद्विचार, सद्कर्म र सदाचारमा अघि बढ्न प्रेरित गर्छ। यो दर्शनले जीवनलाई मात्र नभएर समाज र संसारलाई पनि सुन्दर बनाउने योगदान दिन्छ।
पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक पक्षहरूको समन्वयले मानव कल्याण, समाज विकास र विश्व शान्ति सम्भव छ । पूर्वीय चिन्तनले धर्म, संस्कार, संस्कृति, कला र साहित्यमा मानव चरित्र र सामूहिकतालाई महत्व दिन्छ भने पाश्चात्य चिन्तनले वैज्ञानिक खोज, आधुनिक प्रविधि र तर्कशास्त्रलाई प्राथमिकता दिन्छ । यी दुवै दृष्टिकोणको मेलले नेपालले विश्वव्यापी शासन प्रणालीबाट लाभ लिन सक्छ । वर्तमान अवस्थामा सत्य, अहिंसा, शान्ति कमजोर भई अपराध, हिंसा, भ्रष्टाचार, सामाजिक विकृति बढिरहेको छ । त्यसैले पूर्वीय दर्शनबाट नैतिकता, सदाचार, राष्ट्रिय एकता र मानव मूल्यहरू आत्मसाथ गरी समाज सुधार गर्न आवश्यक छ । (उप्रेती नेपाल सरकारका उपसचिव हुन।)