काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन्।
आज (शुक्रबार) काँग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले काँग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने समेत बताए।
उनले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ। सबैको प्रतिनिधित्व हुन्छ। तर, एक्लै कुनै पार्टीको बहुमत ल्याउन गाह्रो छ। हाम्रो पार्टीमा एकले अर्कोलाई हराउने रोग छँदै छ। एक अर्कालाई छेक्न हाम्रोमा लागिहान्छन्, टिकट नपाउने अर्को समूह हराउन लागिहान्छन्। टिकट त एउटा नै त पाउँछ नि १ मेरो रिटायर्डको उमेर भइसक्यो। त्यही पार्टीबाट प्रधानमन्त्री भएँ, अहिले सभापति भएको छु। सबैले पार्टीलाई राम्रो बनाउन लाग्नुपर्छ।
उनले संविधान राम्रो भए पनि कुनै पार्टीको सहजै बहुमत नआउने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको बताए।
उनले थपे, ‘हिजो माओवादीसँग मिलियो, आज एमालेसँग मिलिएको छ, त्यसका बाबजुद पनि हामीले सबैभन्दा ठुलो पार्टी बनाएका छौँ। ठूलो भए पनि बहुमत छैन। तर, हाम्रो पार्टी एक भयो भने एक्लैले पनि बहुमत ल्याउन सक्छ। यो संविधान पनि हामीले बचाउनुपर्नेछ।