काठमाडौँ– परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्।
आज (शुक्रबार) इटालीको रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन्।
कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।
उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।