काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा रहेका अधिकांश विषयलाई सहमतिको नजिक पुर्याएको छ।
यो समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ। जहाँ ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल’ गर्ने कार्यसूची रहेको छ।
दलहरूबीच जुटेको सहमतिअनुसार कक्षा १० को एसइई परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनेछ। यसको परीक्षा सञ्चालन र व्यवस्थापनबारे थप व्यवस्था प्रदेश कानुन बनाए अनुसार हुने गरी छोड्न लागिएको छ।
निजी विद्यालय सञ्चालन गर्न सक्ने प्रावधान यथावत रहनेछ। यसअघि निजी विद्यालय गुठीमा जानुपर्ने व्यवस्थाको पक्षमा समेत बहस हुँदै आएको थियो। तर, तत्काल निजी विद्यालयलाई गुठीमा लैजान नसकिने निष्कर्षमा दलहरू पुगेका छन्।
बरु कम्पनी कानुन अनुसार विद्यालय स्थापना र सञ्चालनको बाटो खोल्न लागिएको छ।
हाल शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालनको अनमुति प्राप्त हुने व्यवस्था छ। यसलाई बदलेर कम्पनी कानुनअनुसार विद्यालय खोल्न दिन लागिएको छ। यो समितिले विद्यालय शिक्षा विधेयकमा राख्न लागेको नयाँ प्रावधान हो।