काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन्।
आज (बुधबार) उनले एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन्।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाए। एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन्। सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गर्छ।
एमालेको सदस्यता शुल्क मासिक ३०० रुपैयाँ रहेको छ। जुन रकमका साथसाथै ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन्। ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३ हजार ६०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ।