काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा संसद अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बारे अहिले केही टिप्पणी नगर्ने बताएका छन्।
आज (मंगलबार) संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिस्तारै रास्वपाले सबै कुरा थाहा पाउने स्पष्ट पारे।
यस्तै नेपालसँग गम्भीर कुराकानी केही नभएको उनको भनाइ छ। ‘संसदमा भएको गतिरोध, सरकारले गठन गरेको छानबिन समिति, समाजवादी मोर्चा लगायतका विषयमा सामान्य छलफल भएको हो। गम्भीर विषयमा छलफल भएको होइन’, उनले भने, ‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरेको छु। अझै गर्दैछु। रास्वपाका साथीहरूले एकदिन सबै कुरा बुझ्नेछन्।
भिजिट भिसा प्रकरणमा सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। सुरुका दिनमा माओवादीले रास्वपासँगै मिलेर संसद अवरोध गरेपनि पछि दुई बुँदे सहमति गरेर संसदको अवरोध हटाएको थियो। तर सरकारले गठन गरेको समितिप्रति रास्वपा र राप्रपाले अस्वीकार गरेको छ। माओवादीले भने स्वागत गरेको छ।