०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौँ : महामन्त्री थापा - Chaitanya News
  • 2026-05-13
  • 17:43:22
  • बुधबार,बैशाख ३०, २०८३
  • ०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौँ : महामन्त्री थापा

    ०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौँ : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन्।

    आज (आइतबार) नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो।

    पार्टीबाट यो प्रस्ताव नै पारित गरौँ भन्ने मेरो प्रस्ताव छ। कि २०४६ सालको जनआन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको छ,’ थापाले भने, ‘काँग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो जोले जिम्मेवारी लिएका छौँ। बितेका वर्षहरूको एउटा शक्तिशाली छानबिन आयोग बनाऔँ। देशले पत्याएको मान्छे छानौँ।

    थापाले अहिलेका पुस्ताहरूको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच उपस्थित हुन नसक्ने बताए।

    ‘कुनै पार्टीको भागबन्डामा नबसेका मान्छेलाई त्यो समितिमा राखौँ । त्यो मान्छेलाई ०४६ सालपछिका काम गरेका, जिम्मा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गर्न लगाऔँ,’ थापाले भने, ‘काँग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला। जो परे पनि हामीले मान्छौँ भनेर हामीले आँट गर्‍यौँ भने मात्रै अबको जेनेरेसनले तिमिहरूको कुरा सुन्छौँ भन्छ।