काठमाडौँ– आज (शुक्रबार) बिहान ११ः०० बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ।
यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।