काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन् । हिजो (बुधबार) नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूसँग भेटेका थिए। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नै भेट्न पुगेका थिए। त्यसबेला निजामती विधेयकको विषयमा छलफल भएको थियो।
खासगरी निजामती विधेयकमा रहेको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रापधानप्रति प्रधानमन्त्री ओलीको चासो छ।
राजय व्यवस्था समितिले हाल ५८ वर्षमा अवकाश हुने रहेको प्रावधानलाई बदलेर ६० वर्ष पुर्याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ। अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधान समेटिएको छ। राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेस भइसकेको छ।
१ असारमा प्रतिनिधि सभामा पेस भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा रहेका प्रावधानहरू उपर शीर्ष नेताहरू नै संवादमा रहेका हुन्।
संसदीय समितिबाट सर्वसम्मत रुपमा पास भएर अगाडि बढेको विधेयक सभामा पुगेर अड्किँदा राम्रो सन्देश नजाने कांग्रेस नेताहरूको भनाइमा प्रधानमन्त्री ओलीले केही समय मात्रै पर्खिन भनेका छन्।
प्रधानमन्त्रीले नै पर्खिन भनेपछि त्यसअनुसार प्रतिनिधि सभाको क्यालेन्डर समेत तयार भएको छ। सभामा रहेको विधेयक कहिले अडाडि बढाउने यकिन नै नगरी प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ।