संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 18:51:51
  • बुधबार,बैशाख ३०, २०८३
  • संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (बिहीबार) संघीय संसद्का दुवै सदनको बैठक बस्दैछन्। जसअनुसार, प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र बजे बस्नेछ ।

    बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

    वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

    यसैगरी, राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

    बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधि सभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ।