काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन्। आज (बुधबार) नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताएका छन्। यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उनले स्पष्ट पारे।
कतै पनि सग्लो पार्टी भेटिँदैन। धोएको मुला जस्तो,गंगाजल जस्तो पार्टी भेटिँदैन’, उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ।
एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधिको माध्यमबाट समाधान गरिने उहाँले बताए।
उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए। भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रूपमा सच्याउनु पर्ने, कार्यान्वयन गर्न भएका अप्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रूपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ’, उपाध्यक्ष पौडेलले भने, ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरू प्रस्ताव गर्दछ। यी विषयहरू हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ।
उनले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उनले जनसंगठनलाई निर्देशन दिएका छन्।
‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ’, पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।
उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए। ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे। अहिले किन मानिसहरू शिथिल भएका छन् ?, उपाध्यक्ष पौडेलले भने, ‘आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन्। उनीहरूले यो भूमिका निर्वाह गर्नुपर्दछ।’
उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले २०४६–०४७ सालका जनसंगठन, २०६२–०६३ सालका जनसंगठन धेरै सशक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसंगठन पनि सुस्ताएको बताए।