१९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौँ र चुनावमा होमिन्छौँ : नारायणकाजी श्रेष्ठ - Chaitanya News
  • 2026-05-13
  • 20:06:41
  • बुधबार,बैशाख ३०, २०८३
  • १९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौँ र चुनावमा होमिन्छौँ : नारायणकाजी श्रेष्ठ

    १९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौँ र चुनावमा होमिन्छौँ : नारायणकाजी श्रेष्ठ

    काठमाडौँ– पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने बताएका छन् ।

    आज (सोमबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने समेत बताए।

    चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्त्वपूर्ण पक्ष भएको बताउँदै श्रेष्ठले भने, ‘२०८४ मा बहुमतको सरकार बनाएर यो देशलाई फेर्ने, फेरिछाड्ने अभियानमा हामी लाग्छौँ। हामी दावाका साथ भन्छौँ, २०८४ मा बहुमतको सरकार माओवादीको, त्यसपछि सामाजिक, आर्थिक रूपान्तरण तीव्र पारिन्छ, फड्कोमा पुर्‍याइन्छ, समृद्ध नेपाल बनाइन्छ, त्यसको प्रतिफल आम जनतालाई दिइन्छ र समाजवादको आधार तयार पारिन्छ।

    महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने उनको भनाइ छ। ‘विधानमा हाम्रो केन्द्रीय समिति १९९ सदस्य हुने भनिएको छ। अब हामी महाधिवेशनसम्म पुग्दाखेरि केन्द्रीय समितिलाई पनि नयाँ ढंगले विधानअनुरूप निर्माण गरेर नयाँ फड्को मार्छौँ। त्यसपछि हामी पूरै चुनावको तयारीमा जान्छौँ,’ श्रेष्ठले भने।

    श्रेष्ठले अगाडि भने, ‘हामी सच्चिन्छौँ भनेर आत्मालोचना गरेर जनतामा जाने पार्टी हो। त्यसकारण हाम्रो पार्टीले नै यो देशको नेतृत्व गरेर आजको राष्ट्रिय कार्यभार पूरा गर्ने र देश बदल्ने सम्भावना छ।

    अरु पार्टीको हातमा नेतृत्व गएमा देश बर्बाद हुने दाबी गर्दै श्रेष्ठले चुनावमा जानुअघि नै माओवादी सच्चिने बताए। ‘निर्वाचनको दिनमा आएर १२(१ बजेदेखि टिकट कलाई दिने हो भनेर ठेगान गरेर टिकट पठाउने चलन बन्द गर्नुपर्छ। प्रारम्भदेखि नै निर्वाचनको तयारी गर्नुपर्छ,’ श्रेष्ठले अगाडि भने, ‘अरूभन्दा राम्रो पार्टी हुँदाहुँदै पनि यथास्थितिमा हाम्रो पार्टीलाई राखेर हाम्रो मूल कार्यनीति र रणनीति दुइटै काम गर्न सक्दैनौँ।

    त्यसको निम्ति अहिलेको माओवादी बदलिनुपर्ने बताउँदै श्रेष्ठले थपे, ‘खाली हाम्रो पार्टीलाई सरकार बनाउने अवसर दिनुपर्छ मात्रै भनेको होइन। हाम्रो पनि रूपान्तरित, फेरिएको, क्रान्तिकारी र शक्तिशाली नेकपा माओवादी केन्द्रको रूपमा हाम्रो नेतृत्वको कुरा गरेको हो हामीले, यथास्थितिको होइन।