काठमाडौँ– आज (सोमबार) दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संघीय संसद् नयाँ बानेश्वरमा बस्ने भएको छ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन्।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।