काठमाडौँ– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरु भएको छ।
कीर्तिपुरमा सुरु भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
महाधिवेशन सुरु भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ। पार्टीले ३२ वर्षे उमेर हद लगाएसँगै धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन्।
अध्यक्षका लागि चारजनाको प्रबल दाबेदारी छ। डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दीपक धामीले अध्यक्षमा दाबी गरेका छन्। उनीहरूलाई राखेर सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलले बताए।
भर्खर महाधिवेशन उद्घाटन भएको तथा मनोनयन दर्ता नभइसकेकोले अनौपचारिक छलफल चलिरहेको छ।
महाधिवेशनबाट ११ जना पदाधिकारीसहित १५१ सदस्यीय कमिटी बन्नेछ।