लोकसेवा तयारी गरेर निजामती सेवामा प्रवेश गर्ने सबैको चाहाना हुन्छ । पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परीक्षार्थीहरु परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले उपसचिव चुरामणी अर्यालसँग गरेको संवादको सम्पादित अंश:
१– तपाईं निजामती सवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ, यो सफलतालाई कसरी लिनुहुन्छ ?
निजामती सेवा भनेको आफैमा राष्ट्र सेवामा समर्पित सेवा हो । राष्ट्र सेवाको माथिल्लो तहमा पुगेर राष्ट्रको सेवा गर्न पाउँदा एक किसिमको गर्वको महसुस भएको छ ।
२– तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नु भयो, लोकसेवा तयारी गरीरहनु भएका परीक्षार्थीलाई सफलता प्राप्तिका लागि के गर्नुपर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?
पहिलो कुरा त लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीहरुले आफुलाई विश्वास गर्न जरुरी छ । राम्रोसँग मेहेनत गरेर पढे भने मात्र एक दिन अवश्य पनि सफल हुन्छु, भन्ने विश्वास सबै परीक्षार्थीमा हुन जरुरी छ । अर्को लोकसेवा आयोगका विभिन्न तयारी क्लासहरु मात्रै लिएर हुँदैन । त्यसका अलवा पनि हामीले आफ्नै तरिकाले तयारी गर्न आवश्यक छ । एक पटक असफल हुँदैमा हरेस खाएर लोकसेवा प्रतिको आस मार्नु हुँदैन । तयारी गर्दा निरन्तर अभ्यास गर्न जरुरी छ । प्रश्नले मागेको कुरा मात्रै बुझिने गरेर लेख्यो भने सफलता हासील गर्न सकिन्छ । लोकसेवामा मेहेनत धेरै नै गर्नु पर्छ , अल्छि मान्नु हुँदैन । पढ्दा खेरी सधै सकारात्मक सोच बनाएर पढ्नु पर्छ । उपसचिव जस्तो माथिल्लो तहहरुमा सीमित पाठ्य पुस्तक मात्रै पढेर हुँदैन । त्यसका लागि बजारमा पाइने किताबमा मात्रै सीमित नभएर सम्बन्धित विषयक्षेत्रको विषयगत मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , लोकसेवा आयोग आदिका वार्षिक प्रतिवेदनहरु, समिक्षाहरु, मौद्रिक नीति, विभिन्न समितिका प्रतिवेदनहरु, सम्बन्धित विषय विज्ञहरुका पत्रपत्रिकामा प्रकाशित लेखहरु लगायत विभिन्न सन्दर्भ सामग्रीहरुको पाठ्यक्रमले उल्लेख गरेका विषयमा समिक्षात्मक ढंगले पढ्ने र लेख्ने गरी तयारी गर्नु पर्दछ ।
३– पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?
मैले पढाईको सुरुवात गर्दा विशेष गरी लोकसेवा आयोगले सिफारीस गरेको पाठ्यक्रमलाई आधार मानेर त्यो सँग सम्बन्धित बजारमा पाईने किताबहरु, विभिन्न प्रशिक्षकका सामग्रीहरु र पत्रपत्रिकाहरुबाट प्राप्त समाचार,सम्बन्धित खोजमुलक तथ्यहरु,लेख रचनाहरु र गुगलबाट पनि सम्बन्धित विषयहरुलाई खोज्ने र ति कुरालाई आफ्नै तरिकाले छोटोमा टिपोट गर्ने त्यसैलाई आधार बनाएर पढ्ने, लेख्ने गरेको थिएँ । अर्को विभिन्न विज्ञहरुका आर्टिकलहरु, लेखहरु पढ्ने बानीको विकास गर्नुपर्छ र ति सबैलाई समेटेर एउटा आफ्नै तरीकाले छुट्टै नोटहरु बनाउने, पढ्ने गरेको थिएँ । पढाईको सुरुवात गर्दा सजिलो र रुचिलाग्ने विषयबाट सुरुवात गर्नु राम्रो हुन्छ । पढाई र लेखाई दुवैलाई सँगसँगै निरन्तर रुपमा अगाडि बढाउनु पर्छ । पढाईलाई बिचमा नै छोड्यौं भने बिग्रिन्छ । पढाईमा निरन्तरता र लगनशीलता आवश्यक हुन्छ, सफलताका लागि धैर्यता गर्नु सक्नु पर्छ ।
४– पुस्तकको छनोट कसरी गर्ने ?
लोकसेवाका प्रश्नहरु अलि विशेष दायरा भित्र रहेर बनाउने भएकाले यहीँ क्षेत्रभित्र रहेर र यी किताबमात्रै पढ्ने भन्ने त हुँदैन । तर पनि लोकसेवाले तोकेको पाठ्यक्रमलाई आधार बनाएर त्यो सँग सम्बन्धित बजारमा पाइने पुस्तकहरु, विभिन्न इन्स्टिच्युटहरुबाट प्रकाशन हुने किताबहरु र विभिन्न आदरणीय लेखकहरुका आर्टिकलहरु, लेख रचनाहरु, उनीहरुले बोलेका अन्तरर्वाताहरु ति समग्रलाई आफुले बुझ्ने तरिकाले टिपोट गर्ने र पढ्ने बानीको विकास गर्ने , पुस्तक छनोट गर्दा आफुले जे तयारी गरिरहेका छौं त्यहीँ क्षेत्रको पुस्तक छनोट गर्नुपर्छ । माथिल्लो तहको पढाईका लागि एक–दुई पुस्तक मात्रै पढेर सम्भव हुँदैन् त्यसका लागि बजारमा पाईने अधिकांस पाठ्यपुस्तकहरुलाई संकलन गरेर आफ्नो ढंगले पढ्ने, लेख्ने र बुझ्ने बानीको विकास गर्नुपर्छ ।
५– दिमागमा बस्ने गरी पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?
पढ्ने त मान्छे अनुसार समय पनि फरक–फरक हुन्छ, यही समयमा पढ्दा राम्रो हुन्छ भन्ने त छैन । तर बिहानको फ्रेस समयमा अध्ययन गर्दा राम्रो हुन्छ, छिटो बुझिने र दिमागमा बस्ने हुन्छ ।
६– पढेको कुरा कसरी सम्झिने ?
पढेको कुरा सम्झनलाई पहिला त हामीले फ्रेस मुडमा पढ्नु पर्ने हुन्छ । लोकसेवा तयारी क्लासहरुले लिने mock टेस्टहरुमा पनि सहभागी हुनुपर्छ । त्यसले आफुले पढेको कुरा कति सम्झेँ कति बिर्सिएँ भन्ने थाहा हुन्छ । दाहोर्याएर पढ्ने र पढेको विषयबस्तुलाई बुँदागत रुपमा टिपेर पढ्दा राम्रो हुन्छ । पढेको विषयबस्तुमा रुची लगाएर पढ्नु पर्छ । पढ्दा सम्बन्धित विषयबस्तुका सन्दर्भ सामग्री अध्ययन गर्दा सारसंक्षेपमा बुझेर बुँदागत टिपोट गरि पढाई र लेखाइलाई संगठित बनाउनु पर्दछ । जुन पदको लागि प्रतिस्पर्धा गर्ने हो त्यो पदको भूमिकामा आफुलाई सम्झेर पढ्दा पढेको कुरा राम्रोसँग लामो समय सम्झन सकिन्छ ।
७– अरु भन्दा भिन्न र राम्रो उत्तर कसरी लेख्ने ?
पहिलो कुरा त नेपालको संविधान, आवधिक योजना, आर्थिक सर्वेक्षण र अरु सम्बिन्धत ऐन कानुनहरु पढिएन भने सबै उत्तरहरु नसमेटिन सक्छ । अर्को अङ्ग्रेजी word पनि जान्न जरुरी छ । नेपालीमा तेही कुरा भन्दा खासै राम्रो देखिदैन, तर अङ्गे्रजीमा word हरु आकर्षक देखिन्छ। त्यसैले अङ्ग्रेजी word पनि जान्न जरुरी हुन्छ । अर्को भनेको प्रश्नले मागेको उत्तर मात्रै लेख्नु पर्छ । अनावश्यक कुरा थपेर उत्तरलाई लामो बनाउनु हुँदैन । जुन प्रश्नलाई जति समय दिएको छ त्यति नै समयमा त्यसको उत्तर लेखिसक्नुपर्छ । प्रश्न बुझेर मात्रै उत्तर लेख्न सक्यौं भने अरुभन्दा भिन्न र राम्रो उत्तर बन्न सक्छ।
८– लिखित परीक्षामा कस्तो लेखनशैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ होला ?
लिखित परीक्षामा हुन त सबैको उत्तर उस्तै–उस्तै हुन्छ होला । तर, सोही विषयवस्तुलाई अलिकति फरक तरिकाले प्रस्तुत गर्न सकियो भने अरुको भन्दा राम्रो अंक प्राप्त गर्न सकिन्छ । एउटै प्रश्नका पनि विभिन्न खण्ड वा पुच्छ्रे प्रश्न हुन्छन ति सबै खण्ड तथा उपषिर्शकसहित सिलसिलेवार ढंगबाट कुनै पनि खण्ड नछुट्ने गरि उत्तर लेख्नु पर्दछ । प्रश्नका सबै खण्डहरू बिच अन्तरआबद्धता हुँदा अझै राम्रो हुन्छ । प्रश्नलाई राम्रोसँग पढेर, राम्रोसँग बुझेर उत्तर लेख्दा अरुको भन्दा फरक र राम्रो हुन्छ ।
९– बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?
उत्तर यहीँ नै राम्रो भन्ने खास मापडण्ड त छैन,तर विश्लेषणसहितकोे बुँदागत रुपमा उत्तर प्रस्तुत सकियो भने उत्कृष्ट उत्तर बन्न सक्छ ।
१०– समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
म पहिला अर्थ मन्त्रालयमा कार्यरत थिए, पछि म कर कार्यलयमा आएं । हाम्रो कार्यालय सरकारी भएपनि ठिक १० बजे कार्यालय जाने र ५ बजे घर फर्कने भन्ने त कहिले हुँदैन । मलाइ कार्याचाप बढी भएको समयमा बिहान ८ बजे देखि बेलुका ७ बजेसम्म पनि कार्यलयको काममा व्यस्त हुनु पर्ने हुन्थ्यो । तर व्यस्त भएपनि आफुमा पढ्ने चाहाना भयो भने बचेको समय कसरी सदुपयोग गर्ने भन्नेमा भर पर्छ ।
११– कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने, कतिपयले राम्रो अक्षर भएकै कारण परीक्षामा राम्रो नम्बर पाउने विश्वास पनि गरिरहेका हुन्छन् । अक्षर र शुद्धाशुद्धीले नतिजामा फरक पार्छ कि पार्दैन ?
अक्षर राम्रो हुनु आफैमा राम्रो कुरा हो । हेर्दाखेरी अक्षर राम्रो छ भने कपी चेक गर्ने परीक्षकले त्यो कपिमा केही न केही अंक बढी दिन सक्नुहोला , तर अक्षर राम्रा नभएका धेरै साथिहरुले पनि लोकसेवा राम्रोसँग पास गर्नु भएको छ । त्यो हुँदा अक्षर राम्रो मात्रेै भएर हुँदैन । अक्षर मात्रै सबै थोक होइनन् ।
१२– अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीहरुले आफुलाई अरुसँग दाज्नु भन्दा पनि आफैलाई विश्वास गर्न सक्नु पर्छ । मैले गर्न सक्छु, म सफल हुन सक्छु, र म काहीँ भन्दा पनि कम छैन भन्ने सकारात्मक सोचहरु दिमागमा बसाल्नु पर्छ । अर्को लोकसेवामा निष्पक्षता, वैधता, वैधानिकता भएकाले नेपालमा लोकुेवा आयोग राम्रो विकल्प हो । त्यसैले लोकसेवा तयारी गर्नुहोस, धैर्यता र निरन्तरता दिनुहोस्, पक्कै पनि एक पटक सफल भइन्छ । लोकसेवामा सिट संख्या कम र प्रतिस्पर्धी बढी हुने भएकाले सफलता हात पार्न केही समय लाग्न सक्छ। तर धैर्यता गर्न सक्यो र निरन्तर प्रयास गरिरहयो भने सफलता अवश्य मिल्नेछ।