लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-09-16
  • 10:39:56
  • बुधबार,भाद्र ३१, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    निजामतीमा सेवा विशिष्टीकरण

    १. निजामती सेवा अन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहको व्यवस्था गर्नुपर्नाका कारण उल्लेख गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती सेवा अन्तर्गत रहने सेवाको सूची तयार गर्नुहोस् । साथै विशिष्ट श्रेणीसम्म सेवा विशिष्टीकरण गर्ने प्रयोजनका लागि तयार गरिएको सेवा समूहीकरण (क्लस्टर) ढाँचासमेत प्रस्तुत गर्नुहोस् ।

    निजामती सेवा नेपालको सार्वजनिक प्रशासनको आधारस्तम्भ हो । यसले सरकारका विभिन्न निकायको कार्य प्रकृति अनुसार प्राविधिक, प्रशासनिक तथा विशेषज्ञ जनशक्ति उपलब्ध गराउँछ । यसले सरकारका नीति, योजना र कार्यक्रम कार्यान्वयन गरी नागरिकका लागि नियमित, आकस्मिक र विकासात्मक सेवा प्रवाह गर्नुका साथै प्रभावकारी नियमनको माध्यमबाट कानुनको परिपालनास्तर अभिवृद्धिमा समेत भूमिका निर्वाह गर्छ । आफूमा रहेको विशेषज्ञता, विशिष्ट सिप र अनुभवलाई उपयोग गर्दै आधुनिक शासन र प्रशासनले सामना गर्नु परेका बहुआयामिक र जटिल समस्याको समाधान गर्नसमेत पहल गर्छ ।

    निजामती सेवामा विभिन्न सेवा, समूह वा उपसमूहको व्यवस्था गर्नुपर्नाका कारण :

    – सेवाभित्र कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट गर्न,

    – निजामती सेवालाई विशिष्टीकृत, कार्यकुशल र प्रभावकारी बनाउन,

    – सार्वजनिक सेवा प्रवाह र नीति निर्माणका लागि राज्यलाई आवश्यक पर्ने विभिन्न विधा र क्षेत्रका जनशक्तिलाई सरकारी सेवामा भित्र्याउन,

    – मुलुकभित्र उपलब्ध मेधावी र दक्ष जनशक्तिलाई सरकारी सेवामा आकर्षित गरी परिचालन गर्न,

    – सही कामका लागि सही व्यक्ति छनोट गरी उपयुक्त जिम्मेवारी प्रदान गर्न,

    – कर्मचारीको वृत्तिविकास तथा पेसागत स्थायित्वलाई व्यवस्थित गर्न,

    – व्यक्तिको शैक्षिक योग्यता, दक्षता, क्षमता र रुचि तथा राज्यको आवश्यकताबिच तालमेल मिलाउन,

    – निजामती सेवामा व्यावसायिकता र विशेषज्ञताको विकास गर्न ।

    निजामती सेवा अन्तर्गत गठन हुने सेवा :

    निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती सेवामा देहायका सेवा रहेका छन् । यी सेवा अन्तर्गत विभिन्न समूह र उपसमूह रहन सक्छन् :

    – नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा,

    – नेपाल इन्जिनियरिङ सेवा,

    – नेपाल कृषि सेवा,

    – नेपाल न्याय सेवा,

    – नेपाल परराष्ट्र सेवा,

    – नेपाल प्रशासन सेवा,

    – नेपाल लेखापरीक्षण सेवा,

    – नेपाल वन सेवा,

    – नेपाल विविध सेवा,

    – नेपाल शिक्षा सेवा ।

    सेवा समूहीकरण (क्लस्टर) ढाँचा :

    निजामती सेवामा १० प्रकारका सेवा रहन सक्ने भए पनि राजपत्राङ्कित विशिष्ट श्रेणीसम्म नै सेवा विशिष्टीकरण गर्ने प्रयोजनका लागि देहायबमोजिम सेवा समूहीकरण गरिएको छ :

    क) नेपाल इन्जिनियरिङ सेवा,

    ख) नेपाल कृषि तथा वन सेवा,

    ग) नेपाल न्याय सेवा,

    घ) नेपाल परराष्ट्र सेवा,

    ङ) नेपाल प्रशासन सेवा र

    च) नेपाल लेखा परीक्षण सेवा ।

    – अन्त्यमा राज्यले नागरिकलाई प्रदान गर्ने सेवालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन सरकारसँग विशेषज्ञ, विशिष्ट सिपयुक्त र अनुभवी जनशक्तिको आवश्यकता पर्छ । निजामती सेवामा विशिष्ट सिपयुक्त जनशक्ति विकास गर्न र सेवामा टिकाइराख्न सेवा, समूह र उपसमूहसम्बन्धी व्यवस्थालाई स्थायित्व दिनुपर्ने देखिन्छ । निजामती सेवामा सेवा, समूह वा उपसमूहको स्थायित्व कर्मचारीको वृत्ति विकास र पेसाको सुनिश्चितसँग पनि जोडिएको हुन्छ । सेवा, समूह वा उपसमूह खारेजी वा एकीकृत गर्दा यी र यस्तै कुरामा नीति निर्माता र निर्णयकर्ताको ध्यान जान आवश्यक देखिन्छ ।

     

    २. तथ्याङ्क ऐन, २०७९ मा उल्लेख भएबमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयका काम, कर्तव्य र अधिकार सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् ।

    तथ्याङ्क ऐन, २०७९ ले नेपालमा तथ्याङ्कसम्बन्धी काम गर्ने केन्द्रीय निकायका रूपमा रहने गरी राष्ट्रिय तथ्याङ्क कार्यालय स्थापना गर्ने व्यवस्था गरेको छ । यो कार्यालय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमातहत रही कार्यसम्पादन गर्दछ । कार्यालयको प्रशासकीय प्रमुखका रूपमा सङ्घीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको एक प्रमुख तथ्याङ्क अधिकारी रहने प्रावधान छ । यस कार्यालयका काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने भनी ऐनमा उल्लेख गरिएको छ :

    राष्ट्रिय तथ्याङ्क कार्यालयका काम, कर्तव्य र अधिकार :

    – तथ्याङ्कसम्बन्धी नीति, योजना तथा रणनीतिको मसौदा तयार गरी राष्ट्रिय तथ्याङ्क परिषद्मा पेस गर्ने,

    – राष्ट्रिय तथ्याङ्क प्रणालीको विकास, व्यवस्थापन, प्रवर्धन तथा अन्तरनिकाय समन्वय गर्ने,

    – तथ्याङ्क सङ्कलनका लागि गणना, सर्वेक्षण तथा क्षेत्रगत तथ्याङ्कसम्बन्धी कार्यसञ्चालन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने,

    – योजना तर्जुमा तथा नीति निर्धारणका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने,

    – तथ्याङ्कको स्तर निर्धारण तथा प्रमाणीकरणसम्बन्धी कार्य गर्ने,

    – तथ्याङ्कसम्बन्धी अभिलेखको सुरक्षा गर्ने,

    – तथ्याङ्कसम्बन्धी विवरणको प्रकाशन तथा वितरणको व्यवस्था गर्ने,

    – केन्द्रीय तथ्याङ्क –डाटा) बैङ्कका रूपमा कार्य गर्ने,

    – प्रदेश तथा स्थानीय तहबाट प्राप्त तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्ने,

    – प्रदेश तथा स्थानीय तहको तथ्याङ्क प्रणाली विकासमा सहयोग गर्ने,

    – प्रचलित कानुनबमोजिम तथ्याङ्कसम्बन्धी काम गर्ने निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्ने,

    – तथ्याङ्क सङ्कलनसम्बन्धी विषयको परीक्षण, अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने,

    – तथ्याङ्कसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गर्ने,

    – नेपाल सरकार वा आयोगले माग गरेका तथ्याङ्क विवरण वा सूचना उपलब्ध गराउने ।

    – अन्त्यमा सरकारका नीति र योजनाको आधारस्तम्भ तथ्याङ्क हो । नेपालमा तथ्याङ्कसम्बन्धी कार्य गर्ने केन्द्रीय निकायका रूपमा राष्ट्रिय तथ्याङ्क कार्यालय स्थापना गरिएको छ । यसले राष्ट्रिय तथ्याङ्क प्रणालीको विकास, समन्वय, तथ्याङ्क सङ्कलन, प्रमाणीकरण, अभिलेख संरक्षण, प्रकाशन तथा वितरण, डाटा बैङ्क सञ्चालन र सङ्घ, प्रदेश तथा स्थानीय तहलाई आवश्यक तथ्याङ्क उपलब्ध गराउनेलगायतका मुख्य जिम्मेवारी निर्वाह गर्दछ । तथ्याङ्कसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण, अनुगमन तथा क्षमता अभिवृद्धिमार्फत नेपालको तथ्याङ्क प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउनसमेत यस कार्यालयको भूमिका रहँदै आएको छ । तहगत समन्वयलाई थप प्रभावकारी बनाउँदै प्रदेश र स्थानीय तहमा सुदृढ तथ्याङ्क प्रणाली विकास गर्न आवश्यक देखिएको छ ।

     

    ३. भूउपयोग योजनाको महत्व उल्लेख गर्दै नेपालमा भूमिको व्यवस्थित उपयोग सुनिश्चित गर्न स्थानीय तहको भूमिका उल्लेख गर्नुहोस् ।

    भूमिको प्रभावकारी व्यवस्थापन गरी दिगो लाभ लिन तयार गरिएको भूमि उपयोगसम्बन्धी दीर्घकालीन योजनालाई भूउपयोग योजना भनिन्छ । भूउपयोग योजना निर्माण गर्दा भूमिको वस्तुस्थिति, जनसङ्ख्या वृद्धिदर, खाद्य तथा आवासको आवश्यकता, आर्थिक तथा पूर्वाधार विकासका लागि भूमिको मागमा हुने वृद्धिलगायतका विषयको गहन अध्ययन गरिन्छ । कस्तो भूमि कुन कामका लागि प्रयोग गर्दा भूमिले अधिकतम लाभ सिर्जना गर्न सक्छ भन्ने कुरा भूउपयोग योजनाले स्पष्ट पार्छ ।

    भूउपयोग योजनाको महत्व :

    – भूमिको उपयोगलाई व्यवस्थित बनाउन,

    – भूमिको खण्डीकरण नियन्त्रण गरी उत्पादनशील क्षमता बचाई राख्न,

    – कृषियोग्य भूमिको संरक्षण र उत्पादन वृद्धि गरी खाद्य सङ्कटको जोखिम न्यूनीकरण गर्न,

    – अव्यवस्थित बसोबास र अनियन्त्रित सहरीकरण नियन्त्रण गर्न,

    – राज्यका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधार विकासका लागि भूमिको उपलब्धता सुनिश्चित गर्न,

    – पृथ्वीको धान्न सक्ने क्षमता अनुसार भूमिको समुचित उपयोगमा ध्यान दिन,

    – विकास र वातावरणबिच सन्तुलन कायम गर्न,

    – विपत् जोखिम न्यूनीकरणका लागि विपत् संवेदनशील भूउपयोग योजनासम्बन्धी विषयमा जोड दिन,

    – सार्वजनिक उपयोगको क्षेत्रमा हुन सक्ने अतिक्रमण नियन्त्रण गर्न ।

    भूमिको व्यवस्थित उपयोग सुनिश्चित गर्न स्थानीय तहको भूमिका : 

    – नेपालको संविधानले भूउपयोग नीति सङ्घको एकल अधिकारको सूची अन्तर्गत उल्लेख गरे पनि भूमि उपयोगको विषय बहुआयामिक र अन्तरसम्बन्धित भएकाले स्थानीय तहहरूले समेत सङ्घीय एवं प्रादेशिक नीति तथा योजनाको अधीनमा रही स्थानीय भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । भूमिको व्यवस्थित उपयोग सुनिश्चित गर्न स्थानीय तहको भूमिका देहायबमोजिम रहन्छ :

    – स्थानीय तहमा भूउपयोग योजना तयार गर्ने,

    – भूउपयोग योजना कार्यान्वयनका लागि मापदण्ड र प्रक्रिया निर्धारण गर्ने, आवश्यकता अनुसार भूउपयोग उपक्षेत्रहरू वर्गीकरण गर्ने,

    – भूउपयोग क्षेत्र वर्गीकरणको सूचना आमसर्वसाधारणको पहुँचमा पुर्‍याउन प्रचारप्रसार गर्ने,  भूमिसम्बन्धी लगत सङ्कलन, विश्लेषण र उपयोग गर्ने,

    – आफ्नो क्षेत्रभित्रको भूउपयोग नक्सा अद्यावधिक गर्ने,

    – भूउपयोग योजना कार्यान्वयनको अनुगमन गर्ने,

    – भूउपयोग क्षेत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा स्पष्ट आधार र कारणसहित सिफारिस गर्ने,

    – भूउपयोग योजनामा तोकिएको भन्दा फरक ढङ्गले भूमिको उपयोग गरेमा कारबाही गर्ने,

    – भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति, परिवार वा संस्थालाई पुरस्कृत र प्रोत्साहित गर्ने,

    – भूमिको संरक्षण र दिगो उपयोगका लागि सचेतना अभिवृद्धि गर्ने,

    – कृषियोग्य जमिन बाँझो नराख्न अभिप्रेरित गर्ने,

    – आफ्नो तहको भूउपयोगसम्बन्धी नीति तर्जुमा गर्ने,

    – भूउपयोगसम्बन्धी सङ्घीय र प्रादेशिक नीतिको कार्यान्वयन गर्ने/गराउने ।

    – अन्त्यमा भूउपयोग योजनाको मुख्य उद्देश्य नै भूमिको सीमित उपलब्धता र बढ्दो मागबिच तालमेल मिलाउँदै भूमिको समुचित उपयोग वृद्धि गर्नु रहेको छ । स्थानीय तहहरूले सङ्घीय र प्रादेशिक भूउपयोग योजना प्रतिकूल नहुने गरी स्थानीय भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । भूमिको सही उपयोग हुन नसक्दा विपत् जोखिम बढ्दै गएको देखिन्छ । भूउपयोग योजना निर्माण र कार्यान्वयनमा स्थानीय तहहरूको सक्रियताको अपेक्षा गरिएको छ ।

     

    ४. नेपालको संविधानमा व्यवस्था भएबमोजिम उच्च अदालतको क्षेत्राधिकार उल्लेख गर्नुहोस् ।

    नेपालको संविधानले सर्वोच्च अदालतको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक उच्च अदालत रहने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा १४४ मा उल्लेख भएबमोजिम उच्च अदालतको क्षेत्राधिकार निम्नबमोजिम रहेको छ :

    क) आदेश जारी गर्ने अधिकार  

    – देहायको अवस्थामा उच्च अदालतले बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छालगायत जुनसुकै उपयुक्त आदेश जारी गर्न सक्छ :

    – संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा, अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानुनी हकको प्रचलनका लागि वा,

    – सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै कानुनी प्रश्नको निरूपणका लागि,

    ख) सङ्घीय कानुनबमोजिम सुरु मुद्दा हेर्ने, पुनरावेदन सुन्ने र साधक जाँच्ने अधिकार हुने,

    ग) उच्च अदालतको अन्य अधिकार तथा कार्यविधि सङ्घीय कानुनबमोजिम हुने ।

    – अन्त्यमा उच्च अदालतको अधिकार क्षेत्र र अन्य न्याय प्रशासनसम्बन्धी विषय उच्च अदालत नियमावली, २०७३ मा उल्लेख गरिएको छ । उच्च अदालतले एकल इजलास, संयुक्त इजलास वा तेस्रो न्यायाधीशको इजलास आदिका माध्यमबाट आफ्नो क्षेत्राधिकारको प्रयोग गर्छ ।

     

    ५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्य के के हुन् ? साथै यस ऐनको प्रमुख विशेषता उल्लेख गर्नुहोस् ।

    नेपालको संविधानले नेपालको सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने उल्लेख गरेको छ । स्थानीय शासनका विविध मामिला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । स्थानीय तह जनताको निकटमा रहेका सरकार हुन् । स्थानीय तहलाई संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न सङ्घीय संसद्बाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएको छ । यस ऐनका उद्देश्य र प्रमुख विशेषता यसप्रकार छन् :

    क) ऐनका उद्देश्य

    – नेपालको संविधानबमोजिम स्थानीय तहको अधिकारसम्बन्धी प्रावधान कार्यान्वयन गर्न,

    – सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकारिता, सहअस्तित्व र समन्वयमूलक सम्बन्धलाई प्रवर्धन गर्न,

    – स्थानीय तहमा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न,

    – लोकतन्त्रका लाभको समानुपातिक र न्यायोचित रूपमा वितरण गर्न,

    – कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न,

    – स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्न,

    – स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नका निमित्त स्थानीय सरकारको सञ्चालन गर्न,

    ख) ऐनका प्रमुख विशेषता  

    – स्थानीय शासन सञ्चालनका लागि विशेष कानुनको रूपमा रहेको,

    – कार्यविस्तृतीकरण प्रतिवेदनले विस्तृत गरेका अधिकारलाई कानुनी आधार प्रदान गरी गाउँपालिका र नगरपालिकाका जिम्मेवारी स्पष्ट गरेको,

    – स्थानीय तहका शासकीय संरचनाको कार्यसम्पादन पद्धति स्पष्ट पारेको,

    – स्थानीय तहको आर्थिक कार्यप्रणाली व्यवस्थित गरेको,

    – स्थानीय तहको योजना प्रणाली व्यवस्थित गरेको,

    – स्थानीय तहको वित्तीय क्षेत्राधिकार स्पष्ट पारेको,

    – न्यायिक समितिको क्षेत्राधिकार र न्याय सम्पादन प्रक्रिया स्पष्ट पारेको,

    – स्थानीय शासनलाई समावेशी र सहभागितामूलक बनाउन स्थानीय तहहरूलाई निर्देशित गरेको,

    – स्थानीय तहको प्रशासनिक संरचनाबारे दिशानिर्देश गरेको,

    – स्थानीय तहको वित्तीय प्रतिवेदन, आन्तरिक नियन्त्रण, वित्तीय अनुशासन, बेरुजु न्यूनीकरणलगायत वित्तीय जोखिम न्यूनीकरणका लागि स्पष्ट निर्देशन गरेको,

    – भवन तथा सडकसम्बन्धी मापदण्डको पालना गर्न गराउन स्थानीय तहहरूलाई जिम्मेवार बनाएको,

    – स्थानीय तहहरूबिचको समन्वय र सहकार्य प्रवर्धन गरेको,

    – स्थानीय तहको सामाजिक जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता प्रवर्धनमा जोड दिएको ।

    – अन्त्यमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४  ले स्थानीय तहलाई चलायमान बनाई सङ्घीयता कार्यान्वयन गर्न महत्वपूर्ण योगदान गरेको छ । यसले स्थानीय शासन सञ्चालन, स्थानीय तहको जिम्मेवारी र सेवा प्रवाहलाई व्यवस्थित गर्न मुख्य कानुनी आधार तयार गरेको छ । विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको अभ्यासमा स्थानीय तहहरूको समक्षमता विकास गर्न ऐनले व्यवस्था गरेको नीतिगत तथा कार्यविधिगत विषय महत्वपूर्ण रहेका छन् । ऐनमा उल्लिखित प्रावधान कार्यान्वयनमा जिम्मेवार र जवाफदेही बन्न सकिएमा यसका उद्देश्य सहजै हासिल गर्न सकिन्छ ।

    (गोरखा पत्रको बुधबारीय अंकबाट साभार गरिएको लोकसेवा सामग्री)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100