पेट्रोलियमको मूल्य नबढाउँदा निगमलाई पाक्षिक पौने २ अर्ब घाटा - Chaitanya News
  • 2026-09-16
  • 09:24:26
  • बुधबार,भाद्र ३१, २०८३
  • पेट्रोलियमको मूल्य नबढाउँदा निगमलाई पाक्षिक पौने २ अर्ब घाटा

    पेट्रोलियमको मूल्य नबढाउँदा निगमलाई पाक्षिक पौने २ अर्ब घाटा

    काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट महँगो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरे पनि तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। मूल्य समायोजन नगर्दा निगमले पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने भएको छ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्यमा उतारचढाव भइरहेका बेला आईओसीबाट समेत बढेर नयाँ खरिद मूल्य आएको हो। तर, रसुवाको भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले उपभोक्तामाथि थप मूल्यभार नथप्ने निर्णय गरेको हो।

    निगमको निर्णयअनुसार २०८३ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२६) देखि पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम भएको छ।

    यसअनुसार काठमाडौँ, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँमै बिक्री हुनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम रहनेछ।

    आईओसीबाट खरिद मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत् राख्दा निगमको घाटा थप बढ्ने देखिएको छ। निगमले भने बाढीबाट प्रभावित क्षेत्रमा सिर्जना भएको असहज अवस्थालाई मध्यनजर गर्दै तत्काल मूल्य वृद्धि नगर्ने निर्णय गरेको जनाएको छ।