नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-05-13
  • 22:02:21
  • बुधबार,बैशाख ३०, २०८३
  • नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छ : अर्थमन्त्री पौडेल

    नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरू उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन्। आज (बुधबार) राजधानीमा पूर्वाधार पत्रकार समाजले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने बताएका ।

    खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्म सम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने उनको भनाइ छ।उनले त्यसदिशा तर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने बताए।

    कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए ती समस्यालाई हदसम्मै पूरा गरिएको समेत उल्लेख गरे । केही महत्त्वपूर्ण सुधारका प्रयास बजेटमा गरिएकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

    अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरूको अभाव हुन दिँदैनौ । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौँ । नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौँ । खानी जन्य, नदिजन्य वस्तुहरू अभाव भएका कारण निर्माण जन्य प्रभावित हुन पर्दैन । अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौ ।’

    तीन करोडभन्दा तलका आयोजनाहरू अब कसैले पनि बजेटमा राख्न हिम्मत नगर्ने बताउँदै पौडेलले अहिलेको बजेट अनुशासनका हिसाबले यो महत्त्वपूर्ण डिपार्चर रहेको दाबी गरे।