बागमती प्रदेशसभा बैठकबाट २ वटा विधेयक सर्वसम्मत पारित - Chaitanya News
  • 2026-07-07
  • 16:41:54
  • मंगलबार,आषाढ २३, २०८३
  • बागमती प्रदेशसभा बैठकबाट २ वटा विधेयक सर्वसम्मत पारित

    बागमती प्रदेशसभा बैठकबाट २ वटा विधेयक सर्वसम्मत पारित

    हेटौँडा– बागमती प्रदेशसभा बैठकबाट आज २ वटा महत्त्वपूर्ण विधेयकहरू सर्वसम्मत पारित भएका छन्।

    प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको सोमबार दिउँसो बसेको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मत रूपमा पारित भएका हुन्।

    प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले दुवै विधेयकहरू सभामा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको हो। यसअघि प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले ती विधेयकका प्रतिवेदन माथि दफावार छलफलका लागि प्रदेशसभा बैठकमा पेस गरेकी थिइन्।

    बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । ती दुवै विधेकहरु माथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए।

    छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालनमा रहेका उद्योग र व्यवसायहरूलाई सशक्त रूपमा अगाडि बढाउन मद्दत पुग्ने दाबी गरिन्। ती विधेयकमार्फत प्रदेशमा देखिएका केही कानुनी जटिलता समाधान भई उद्योगी व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने उनले विश्वास व्यक्त गरिन्।

    छलफलपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयक पारित गर्न प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेकी थिइन्।