जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति फुल्छ - Chaitanya News
  • 2026-04-30
  • 20:18:24
  • बिहिबार,बैशाख १७, २०८३
  • जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति फुल्छ

    जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति फुल्छ

    तोमनाथ उप्रेती:
    आजको युगमा स्वार्थ, लोभ र ईर्ष्याले मानिसको अन्तरात्मा नै क्षीण बनाउँदै लगेको छ। व्यक्तिको सोचाइदेखि लिएर राष्ट्रको नीतिसम्म स्वार्थको प्रभाव देखिन्छ। हरेक निर्णय, सम्बन्ध र व्यवहारमा आत्मकेन्द्रित प्रवृत्तिले स्थान लिएको छ। जसका कारण समाजमा सहयोगभन्दा प्रतिस्पर्धा, करुणाभन्दा घृणा र समर्पणभन्दा स्वार्थ बढेको छ। स्वार्थले मानिसलाई कठोर, संवेदनहीन र विवेकहीन बनाउँछ। यस्तो वातावरणमा आत्मिक शान्ति त के, सामाजिक सद्भाव पनि सम्भव हुँदैन। जबसम्म हामीले स्वार्थ त्याग गर्ने संस्कार विकास गर्न सक्दैनौँ, तबसम्म न त साँचो मित्रता सम्भव हुन्छ, न त स्थायी शान्ति। यसैले, शान्तिको बाटो स्वार्थमुक्त हृदयबाट मात्रै सुरु हुन्छ।जब मानिस स्वार्थ त्याग गर्छ, तब उसको दृष्टिकोण व्यापक हुन्छ। उसले आफूभन्दा अरूको पीडा, भावना र अधिकार बुझ्न थाल्छ। त्याग र समर्पणबाट जन्मिने यही चेतना नै शान्तिको पहिलो फूल हो। परिवारमा स्वार्थभन्दा प्रेम, माया र समर्पण हावी भएमा त्यहाँ कलह होइन, मेलमिलाप हुन्छ। राष्ट्रमा नेताहरूले व्यक्तिगत लाभको सट्टा जनताको हितलाई प्राथमिकता दिए भने राजनीतिक स्थायित्व र समृद्धि सम्भव हुन्छ।
    त्याग भनेको केवल भौतिक वस्तु परित्याग गर्नु मात्र होइन, अहंकार, लोभ, इर्ष्या, घृणा, द्वेषजस्ता नकारात्मक भावनाहरू त्याग गर्नु पनि हो। जब व्यक्तिमा आत्मिक चेतना विकसित हुन्छ, तब उसले आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र मानव कल्याणको लागि सोच्न थाल्दछ। त्यही सोचबाट त्यागको भावना उत्पन्न हुन्छ।त्यागले व्यक्ति भित्र आत्मिक सन्तोष र मनोवैज्ञानिक स्थिरता ल्याउँछ, जसले शान्तिको अनुभूति गराउँछ। उदाहरणका लागि, महात्मा गान्धीले आफ्नो जीवनभर भोग विलास त्याग गरेर देश र जनताको सेवामा समर्पित भए, जसले उनीप्रति विश्वभर सम्मान र शान्तिको प्रतीकको रुपमा स्थापित गर्‍यो।
    त्यागले द्वन्द्वको अन्त्य गर्छ र सहिष्णुता, करुणा र सहकार्यको वातावरण बनाउँछ। जब व्यक्तिहरू व्यक्तिगत स्वार्थ त्याग गरेर सामाजिक हितमा क्रियाशील हुन्छन्, तब समाजमा न्याय, समानता र सद्भावको स्थायीत्व रहन्छ।त्यसैले, जहाँ त्यागको भावना हुन्छ, त्यहाँ मनमा र समाजमा पनि शान्ति रहन्छ। अहंकार र लोभले भरिएको संसारमा स्थायी शान्ति सम्भव छैन। शान्ति चाहने हो भने आत्मत्याग, सहिष्णुता र सेवा भाव आवश्यक हुन्छ। साँचो शान्तिको मूल आधार नै त्याग हो।
    त्याग शब्दको अर्थ हो कर्मको फलको त्याग, आफ्नो अधिकार छोडेर या सबै कुरा त्याग गरेर सन्यास लिनु। श्री शंकराचार्य जी आफ्नो शंकर भाष्यमा यसको स्पष्टिकरण गर्दै भन्छन् “नित्य कर्मसु संग फल त्याग“, अर्थात् नित्य कर्मको संग फलको परित्याग गर्नु।
    आजको संसारमा यदि गहिरो रूपमा दृष्टिपात गरिन्छ भने, प्रष्ट देखिन्छ कि मानिसहरू भौतिक सम्पत्ति, जमीन–जायदाद र धनको लागि आफन्तसँगै शत्रुता गर्न पनि पछि पर्दैनन्। भाई–भाईबीच प्रेम र एकताको सट्टा ईर्ष्या, प्रतिस्पर्धा र स्वार्थको भावना मौलाएको छ। पद, प्रतिष्ठा र शक्ति प्राप्तिका लागि मानिसहरू मानवता बिर्सिएर जस्तोसुकै नीच र अमानवीय कार्य गर्न तत्पर छन्। नैतिक मूल्यहरू कमजोर बन्दै गएका छन्, र मानवीय सम्बन्धहरू स्वार्थको सिकार बनेका छन्। यस्तो प्रवृत्तिले समाजमा द्वन्द्व, अशान्ति र विघटन निम्त्याएको छ। आत्मकेन्द्रित सोच र लोभको कारण आजको समाज मूल्यहीनताको संकटमा फसेको देखिन्छ। घरमा सासु–बुहारी बीचको विवाद र अधिकारको संघर्षले वैमनस्य उत्पन्न गर्छ, जहाँ सासु त्याग गर्न चाहन्न र बुहारी हर हालतमा अधिकार प्राप्त गर्न चाहन्छ ।
    यसरी संसारका हरेक क्षेत्रहरूमा त्याग नगर्दा अशान्ति उत्पन्न हुन्छ र जहाँ त्याग हुन्छ, त्यहाँ शान्ति स्थापित हुन्छ । यदि दृष्टिपात गरियो भने पशु पक्षी पनि यस अशान्तिबाट बच्न सक्दैनन्। एउटा कुकुर आफ्नोे प्राप्त गरेको रोटीको टुक्रा समाएर एकान्त स्थानमा जान्छ र त्यहाँ बसेर त्यसलाई खान चाहन्छ, तर त्यसको मुखमा समातिएको रोटीको टुक्रा देखेर अन्य कुकुरहरू उसलाई आक्रमण गर्छन्। जबसम्म उसले रोटीको टुक्रा त्याग्दैन, तिनीहरू उसको पछाडि लागिरहन्छन्। अन्ततः, थाकेर त्यो कुकुर रोटीको टुक्रा त्याग्छ र आफ्नोे जीवन बचाउँछ । यसरी संसारको हरेक क्षेत्रमा त्यागबाट मात्र शान्ति प्राप्त गर्न सकिन्छ, अन्यथा छैन।
    मानव जीवनमा त्यागको महत्वपूर्ण भूमिका मानीएको छ । यहाँसम्म कि हामीले दोस्रो सास फेर्नको लागि पहिलो सासको त्याग गर्नु पर्छ । त्याग मात्र एक कर्म होइन, यो एक भावना पनि हो। यसले हामीलाई संसारिक मोहबाट अलग गराउने मात्र होइन, हाम्रो व्यक्तित्व निर्माणमा पनि निर्णायक भूमिका खेल्छ। महाभारतको शान्ति पर्वमा भनिएको छ कि ‘त्यागको समान कुनै सुख छैन ।स्वामी रामतीर्थ पनि भन्छन् कि ‘त्याग बाहेक यस संसारमा अन्य कुनै शक्ति छैन। मानिस मात्र होइन, साक्षात ईश्वरलाई पनि बिना त्यागको यश र वैभव प्राप्ति भएको छैन। त्यागको यस्तो प्रतिमूर्तिको रूपमा भगवान श्रीरामको नाम सर्वोपरि मानिन्छ । पिताको आज्ञा पालन गर्दै राजपाटको त्याग गरेर भगवान रामले वन गमनलाई प्राथमिकता दिएका थिए । वनवासको कदम अघि बढाउँदा उनी केवल राम थिए, तर वनवास पुरा भएपछि उनी मर्यादा पुरुषोत्तमको रूपमा प्रतिष्ठित भए । त्यसैगरी अर्जुन र दुर्योधन महाभारत युद्धको अघि भगवान श्रीकृष्णसँग मद्दत माग्न पुगे। तब अर्जुनले श्रीकृष्णको नारायणी सेनाको त्याग गरेर श्रीकृष्णलाई चयन गरे, किनकि अर्जुनलाई थाहा थियो कि भगवानको साथ हुनु नै पर्याप्त छ । यदि अर्जुनले सेनाको मोह गरे भने महाभारतको परिणाम केही अरु पनि हुन सक्थ्यो।
    राजकुमार सिद्धार्थले संसारिक मोहको त्याग मानवतालाई दुःखबाट मुक्ति दिलाउनको लागि गरे। यस प्रक्रियाको परिणामस्वरूप उनी सिद्धार्थबाट भगवान बुद्ध बने। आधुनिक इतिहासमा महात्मा गांधीले त्यागको अनुपम उदाहरण हामी सबैको सामु राखेका छन्। उनले देशको हित र स्वतन्त्रताको लागि आफ्नोे व्यक्तिगत सुखको त्याग गरे। सुखहरूको त्यागले उनको व्यक्तित्व यस्तो बनायो कि उनी राष्ट्रपिता बने । वास्तवमा जो व्यक्ति अरुको हितको लागि आफ्नो सुखहरूको त्याग गर्न सक्छ, उही साधारण मानवभन्दा माथि उठेर एक महामानव बन्ने हो। यस्ता महामानवहरूले मात्र समाज, देश र सृष्टिको कल्याणको मार्ग प्रशस्त गर्छन्।
    त्याग दुई क्षेत्रहरूको लागि गरिन्छः पहिलो लौकिक शान्ति, अर्थात संसारमा सफलता र शान्तिको निरन्तर प्राप्तिका लागि र दोस्रो पारलौकिक शान्ति, अर्थात परमात्माको प्राप्तिका लागि। यी दुवैको प्राप्ति त्याग बिना सम्भव छैन। त्याग शब्दको यत्रा व्यापकता र महत्त्व छ, जसलाई असत्य ठान्न वा नकार्न सकिदैन।
    हामीले जीवनमा कति ठूलो लक्ष्य र सपना राख्दैनौं किनभने ती लक्ष्य हासिल गर्नका लागि मेहनत र त्याग चाहिन्छ। त्यागको आवश्यकता सबै क्षेत्रमा हुन्छ, चाहे त्यो व्यक्तिगत जीवन होस् वा व्यावसायिक, चाहे त्यो सम्बन्धमा होस् वा व्यक्तिगत उन्नतिमा।
    व्यक्तिगत विकासमा पनि त्यागको महत्वपूर्ण भूमिका छ। राम्रो स्वास्थ्यको लागि हामीले अस्वास्थ्यकर आहार र लापरवाह जीवनशैलीलाई त्याग्नु पर्छ। जब हामी शिक्षा र ज्ञान प्राप्त गर्न चाहन्छौं, तब त्यसको लागि हामीले समय र ऊर्जा खर्च गर्नु पर्छ, जसले गर्दा हाम्रा आनन्द र आरामको समय घट्न सक्छ । उदाहरणका लागि, विद्यार्थीहरूले लामो घण्टा अध्ययन गर्नका लागि आफ्नोे मनोरञ्जन र मस्तीको समय त्याग्ने गर्छन्। यस्तै, एक व्यक्ति जो आफ्नोे करियरमा सफल बन्न चाहन्छ, उसलाई काममा ध्यान दिन र समय लगानी गर्न आवश्यक छ, जसका कारण उसको व्यक्तिगत समय र विश्राममा केही कमी आउँछ।
    सम्बन्धहरू पनि त्याग बिना मजबुत बन्न सक्दैनन्। चाहे त्यो परिवारसँगको सम्बन्ध होस् या मित्रता वा प्रेम सम्बन्ध, सबैमा समर्पण र बलिदानको आवश्यकता हुन्छ । उदाहरणका लागि, एउटा जोडिले आफ्नो व्यक्तिगत चाहनाहरूलाई थोडा त्यागेर साझेदारीको जीवन बनाउन सक्छ । यसका लागि, कहिलेकाहीं आफ्नोे इच्छाहरूलाई पछि सारेर अर्काको खुशी र राम्रोका लागि काम गर्नु पर्छ। यसरी, एक मजबूत सम्बन्ध बनाउनका लागि परस्पर त्याग र समझदारी आवश्यक हुन्छ ।
    सपना र लक्ष्य प्राप्तिमा त्यागः सपना र लक्ष्यहरू प्राप्त गर्नका लागि त्याग एक अपरिहार्य कुरा हो। यदि हामीलाई कुनै ठूलो सफलता प्राप्त गर्न छ भने, हामीलाई छोटो समयमा धेरै काम गर्न र कहिलेकाहीं थोरै आराम वा मनोरञ्जन त्याग्न आवश्यक पर्छ । उदाहरणका लागि, एक व्यवसायी जो नयाँ व्यापार शुरू गर्न चाहन्छ, उसलाई प्रारम्भिक चरणमा आफ्नो आरामदायक जीवनशैलीलाई केही समयको लागि त्याग गर्नु पर्छ। यसका लागि उसले धेरै समय र श्रम लगानी गर्नु पर्छ।
    सामाजिक र व्यक्तिगत जीवनमा त्यागः जब हामी सामाजिक र व्यक्तिगत जीवनमा सफलता हासिल गर्न चाहन्छौं, तब हामीले आफ्नो साना इच्छाहरू र सुखहरूको त्याग गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, समाजमा सम्मान र प्रतिष्ठा प्राप्त गर्नका लागि एक व्यक्तिलाई आफ्नोे इगो र अहंकारलाई त्याग्न सक्छ। यदि हामी वास्तवमै ठूलो व्यक्ति बन्न चाहन्छौं भने, हामीले आफ्नोे नकारात्मक गुण र अरूसँगको द्वन्द्वलाई त्याग्नुपर्छ।
    जीवनमा कुनै पनि ठुलो सफलता वा महत्त्वपूर्ण कुरा प्राप्त गर्नका लागि हामीले केही त्याग गर्नु पर्छ। त्याग भनेको असुविधा र पीडा हो, तर यसले अन्ततः हामीलाई हाम्रो लक्ष्य नजिक पुर्याउँछ र जीवनमा वास्तविक खुशी र सफलता ल्याउँछ । परमात्माको प्राप्ति पनि बिना त्यागको सम्भव छैन। त्यसैले धार्मिक तथा अध्यात्मिक क्षेत्रमा पनि त्यागको अत्यधिक महत्त्व छ। परमेश्वर प्राप्तिका लागि संसारका ज्ञानी मानिसहरू चार प्रकारले त्याग गर्छनः मलत्याग – संसारलाई विष्ठा जस्तो जानेर त्याग गरेर त्यसलाई पछाडि नहेर्ने।अनिष्ट त्याग – संसारिक पदार्थ, धन, सम्पत्ति, माता–पिता आदि, जसलाई मोक्ष प्राप्तिमा बाधक ठानिन्छ, त्याग गर्ने।स्वतः त्याग – सबै कुरा, जस्तै धन, सम्पत्ति, माता–पिता, पुत्र आदि, नष्ट भए पछि संसार त्याग गर्ने, अर्थात सन्यास लिने।कुष्ठी वा वासना त्याग – जब कुनै व्यक्ति विकृत रोग या भयंकर शारीरिक समस्यामा फस्छ, त्यसका सबै सम्बन्धी र परिवारजन उसलाई छोडेर घृणा गर्छन्, त्यसले मोह छोडेर एक मात्र ईश्वरको शरणमा जान्छ र शान्ति प्राप्त गर्छ। बिना त्याग संसारिक सुख शान्ति र ईश्वरको प्राप्ति सम्भव छैन। त्याग बिना केहि चिजको प्राप्ती सम्भव छैन ।
    जीवनमा सफलताका लागि कुनै न कुनै प्रकारको त्याग अनिवार्य छ । हाम्रो जीवनका विभिन्न पक्षहरूमा त्यागको महत्वलाई उजागर गर्दछ  ।जुनसुकै ठुलो सफलता प्राप्त गर्नका लागि हामीले केही न केही त्याग गर्नुपर्ने हुन्छ । त्याग केबल कुनै भौतिक चिजको बलिदान मात्र होइन, यो समय, श्रम, भावना, र कहिलेकाहीं हाम्रो सुख र सुविधा पनि हुन सक्छ । जहाँ त्याग हुन्छ, त्यहाँ शान्ति स्थापित हुन्छ ।त्यागले न केवल व्यक्तिगत शान्ति ल्याउँछ, तर यसले समाज र विश्वमा पनि शान्ति स्थापित गर्न मद्दत पुर्याउँछ। त्याग भनेको केवल भौतिक वस्तुहरूको छोड्न मात्र होइन, भावनात्मक, मानसिक र आत्मिक स्तरमा पनि छोड्ने प्रक्रिया हो। जब मानिस आफ्नो स्वार्थ, अहंकार, ईष्र्या, र गुस्सालाई त्याग गर्छ, तब त्यसले मनमा शान्ति ल्याउँछ।
    व्यक्तिगत जीवनमा त्यागले समर्पण, प्रेम र सहानुभूतिको भावना बढाउँछ । जब हामी अरूसँग निस्वार्थ भावले व्यवहार गर्छौं, तब तनाव र द्वन्द्व घट्छ । त्यसैगरी, परिवार र समाजमा पनि त्यागले समन्वय र समझदारी बढाउँछ । एकजना व्यक्तिले अरुको स्वार्थको कदर गरेर आफ्नो अधिकार वा खुशीलाई साइडमा राखेर शान्तिपूर्ण वातावरण बनाउन कोशिस गरे, तब त्यागको प्रभाव समाजमा फैलन्छ र सबैलाई शान्तिको मार्गमा पुर्याउँछ ।जब त्यागको भावना फैलिन्छ, तब समाजमा अहंकार र संघर्ष कम हुँदै शान्ति र सहिष्णुता बढ्छ र त्याग शान्तिको स्थायी स्तम्भ बनिन्छ । धार्मिक ग्रन्थहरू, महापुरुषहरूको जीवन र इतिहासका उदाहरणहरू यही बताउँछन्— शान्तिको मूल रहस्य स्वार्थको अन्त्यमा छ। गौतम बुद्ध, महात्मा गान्धी, मदर टेरेसा जस्ता व्यक्तित्वहरूले आफूलाई विसर्जन गरी समाजलाई दिशा दिएका थिए। आजको विषाक्त परिवेशमा स्वार्थ त्याग गर्दै सहिष्णुता, करुणा र समानताको मार्ग अँगाल्ने हो भने मात्र समाजमा शान्ति र सौहार्द कायम गर्न सकिन्छ। यसैले, जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति अवश्य फुल्छ।
    (उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)