रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने सरकारको घोषणा - Chaitanya News
  • 2026-06-05
  • 00:39:44
  • बिहिबार,जेठ २१, २०८३
  • रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने सरकारको घोषणा

    रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने सरकारको घोषणा

    काठमाडौँ– सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याउने घोषणा गरेको छ।

    हिजो (बिहीबार) संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि रु २८ अर्ब ८२ करोड लाग्ने बताए। लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उनले बताए।

    माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि रु ४० करोड विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताए। पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने भएको छ। यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।