आजबाट ट्रेड टावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ? - Chaitanya News
  • 2026-07-05
  • 11:39:17
  • आइतबार,आषाढ २१, २०८३
  • आजबाट ट्रेड टावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

    आजबाट ट्रेड टावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

    काठमाडौं– आज (बुधबार) देखि सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ खुलेको । कार्यालय समय पश्चात अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंक शाखाबाट आवेदन दिन सकिनेछ।

    यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो।

    जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

    सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ। न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    अंकित मूल्य १ सयका दरले जारी हुने आईपीओका लागि कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ, जसले दायित्व वहनमा कम्पनी मध्यमस्तरको जनाउँछ।

    कस्तो छ कम्पनी ?

    कम्पनीले हाउजिङ तथा होटलसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ। सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो।

    काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ। नेपाल खाद्य संस्थानको जग्गा ३० वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो। सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो। भवन सञ्चालनको १५ वर्ष बितिसकेको छ।

    त्यस्तै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ। कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ। ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो। मुख्यतः थापाथलीको व्यारिक कम्प्लेक्स र गौशालाको होटल अहिले कम्पनीले सञ्चालन गर्दै आएको छ।

    आईपीओबाट संकलन भएको रकम बैंकको ऋण र ब्याज भुक्तानीमा ३० करोड रुपैयाँ प्रयोग हुने कम्पनीले स्पष्ट पारेको छ। बाँकी ९ करोड रुपैयाँ होटल क्रिस्टलको क्षमता वृद्धिमा खर्चिने कम्पनीले जनाएको छ।

    गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा छ। त्यस्तै प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ छ। ४ करोड ८२ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ।