पर्यटकको राजाईमा अन्नपूर्ण हिमाल - Chaitanya News
  • 2026-07-05
  • 11:24:37
  • आइतबार,आषाढ २१, २०८३
  • पर्यटकको राजाईमा अन्नपूर्ण हिमाल

    पर्यटकको राजाईमा अन्नपूर्ण हिमाल

    म्याग्दी–पछिल्लो समय म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकको चहलपहल निकै बढेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ।

    आरोहीहरू आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन्। आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरूको पनि आधार शिविरमा आगमन सुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए। समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरू पनि आउने गर्छन्।

    मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ। नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ।

    छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ। अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो।