साँचो उन्नतिको मार्ग विनम्रता, आत्मज्ञान र सहिष्णुताबाट मात्र खुल्छ - Chaitanya News
  • 2026-05-01
  • 02:44:32
  • बिहिबार,बैशाख १७, २०८३
  • साँचो उन्नतिको मार्ग विनम्रता, आत्मज्ञान र सहिष्णुताबाट मात्र खुल्छ

    साँचो उन्नतिको मार्ग विनम्रता, आत्मज्ञान र सहिष्णुताबाट मात्र खुल्छ

    तोमनाथ उप्रेती:
    साँचो उन्नतिको मार्ग विनम्रता, आत्मज्ञान र सहिष्णुताबाट मात्र खुल्छ। जीवनमा सफल हुनु बाह्य उपलब्धिहरू हासिल गर्नु होइन, आत्मिक रूपले सम्पन्न हुनु हो। विनम्रता त्यस्तो गुण हो जसले व्यक्तिलाई अरूको विचार, अनुभव र भावना बुझ्न सक्षम बनाउँछ। विनम्र व्यक्ति सधैं सिक्न तयार हुन्छ, आफ्ना कमजोरी स्वीकार्छ, र सुधारको प्रयासमा रहन्छ। यही सोचले उसलाई नयाँ अवसरहरू प्राप्त गर्न मद्दत गर्छ।आत्मज्ञानले मानिसलाई आफ्नो शक्ति, सीमा, कर्तव्य र उद्देश्य बुझ्न सघाउँछ। आत्मसाक्षात्कारले अहंकार हटाउँछ र जीवनको गहिरो सत्यहरूप्रति जागरुक बनाउँछ। आत्मज्ञान भएको व्यक्ति स्थिर, धैर्यवान् र विवेकी हुन्छ, जसले उसको निर्णयलाई प्रभावकारी बनाउँछ।
    सहिष्णुता पनि उन्नतिको मूल आधार हो। विभिन्न विचार, संस्कार र व्यवहारलाई स्वीकार गर्न सक्ने क्षमता नै सहिष्णुता हो। सहिष्णु व्यक्ति द्वन्द्व सिर्जना गर्दैन, बरु मेलमिलाप र सहयोगमार्फत समाधान खोज्छ।यी तीन गुणहरू जीवनलाई सन्तुलित, सफल र सार्थक बनाउँछन्। जसले विनम्रता, आत्मज्ञान र सहिष्णुतालाई आत्मसात गर्छ, ऊ साँचो उन्नति तर्फ अग्रसर हुन्छ — बाहिरी सफलता मात्र होइन, भित्री शान्ति र सन्तोष पनि प्राप्त गर्छ। यही हो जीवनको असली उचाइ।
    ‘अहङ्कार आफुले आफुलाई सर्वगुण सम्पन्न र अति जान्ने सुन्ने मान्ने प्रवृति हो । अहंकार आफु अरु भन्दा श्रेष्ठ हु भन्ने गर्वको भाव हो । अहंकार आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने, आफ्नो विचार, ज्ञान, रूप, हैसियत वा सम्पत्तिमा घमण्ड गर्ने मनोवृत्तिलाई जनाइन्छ। यस्तो मानसिकता मान्छेलाई यथार्थबाट टाढा लैजान्छ र आत्मसन्तुष्टिमा बाँध्छ। जब मानिस आफ्नो अहंकारको अधीनमा पर्छ, उसले अरूको भावनालाई बेवास्ता गर्न थाल्छ, जसका कारण सम्बन्धमा दरार, वैमनस्यता र एक्लोपन सिर्जना हुन्छ।यसले  आफ्नो मात्र मानसम्मान, सुखसुविधा र प्रगतिमा आफुलाई केन्द्रीत राख्छ । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग , शक्ति, पद, ज्ञान तथा वुद्धि , यशसमेतका केन्द्रीत अहंकारहरु हुन्छन ।
    अहंकारले मानिसलाई सिक्न, स्वीकार्न र सुधार गर्न अवरोध पुर्‍याउँछ। आफ्ना कमजोरी नदेख्ने र सधैं आफू ठीक छु भन्ने सोचले आत्मविकास रोकिन्छ। जब अरूको प्रशंसा हुन्छ, उसले ईर्ष्या गर्छस आलोचना हुँदा रिसाउँछ। यिनै भावनात्मक असन्तुलनहरूले दुःख निम्त्याउँछ।साँचो सुख र शान्तिको लागि विनम्रता आवश्यक हुन्छ। जसले अहंकार त्याग्छ, ऊ नै आत्मज्ञान र आन्तरिक सन्तुष्तितर्फ अग्रसर हुन्छ। विनम्र मानिसले अरूको विचार सुन्छ, सिक्छ र आफ्नो गल्ती स्वीकार्न सक्दछ, जसले उसलाई सामाजिक रूपमा प्रिय र मानसिक रूपमा सशक्त बनाउँछ।त्यसैले, अहंकार त्याग्नु आत्मविकासको पहिलो कदम हो। आफूलाई सही तर सीमित बुझ्न सक्ने र अरूको मूल्य स्वीकार गर्न सक्ने व्यक्ति नै जीवनमा साँचो सुख प्राप्त गर्न सक्छ। अहंकार जित्न सके दुःखको मूल कारण हट्छ र जीवन सहज, सरल र सुखमय बन्छ।
    अहंकार अज्ञान हो, आसुरी हो, विनाश हो, पतन हो ।अहंकारले मानिसलाई पतनको बाटो तिर लैजान्छ । अहंकार अज्ञान हो, जसले सत्यलाई ओझेल पार्छ। यो आसुरी प्रवृत्ति हो, जसले मानिसलाई आत्मकेन्द्रित बनाउँछ। अहंकारी व्यक्ति अरूको विचार, सुझाव र भावना बुझ्न असमर्थ हुन्छ। यथार्थलाई अस्वीकार गर्दै ऊ आफैलाई सर्वोच्च ठान्छ, जसले घमण्ड जन्माउँछ। यस्तै घमण्डले विनाशको ढोका खोल्छ। सम्बन्धहरू टुट्छन्, अवसरहरू गुम्छन्, आत्मिक शान्ति हराउँछ। अहंकारले मानिसलाई पतनको दिशामा धकेल्छ, जहाँ न त साँचो सुख भेटिन्छ न साँचो सफलता। साँचो उन्नतिको मार्ग विनम्रता, आत्मज्ञान र सहिष्णुताबाट मात्र खुल्छ। त्यसैले, अहंकारलाई त्याग्नु नै आत्मविकास र समृद्ध जीवनको पहिलो पाइला हो। अहंकार मानिसको पतन तथा विनाशको कारण हो भने निरंहकारिताले उसको सुख सन्तोष, प्रगती, उन्नती , सुख ,समृद्धि तथा प्रसन्नताको बाटो खोल्छ ।मानवलाई विवेकहीन बनाउने यी विकारहरूको धरै प्रभावबाट मुक्त गर्न, तर्क र इच्छा वा आशक्तिको प्रभावबाट मुक्त हुनु आवश्यक छ । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारबाट उत्पन्न हुने अर्को विकार हुन् भय, चिन्ता, ईष्र्या, राग र द्वेष  । अहंकार एक संग्रह हो जुन विष जस्तै हो ।
    व्यक्तित्वमा स्वार्थीपना हावी हुनु अहंकारको उपज हो। कुनै पनि कामको श्रेय या सफलतामा मैले गर्दा नै भएको भन्ने धारणा र केन्द्रमा आफूलाई राख्नु अहंकारको प्रस्तुति हो। अहंकार अहमता हो , मै हुं भन्ने भाव, घमण्ड र अभिमान नै अहंकार हो । आफुलाई सर्वैसर्वा सम्झने क्रिया, भाव, गुण र मपाईत्व भावनालाई अहंकार भनिन्छ । आफ्नो पद प्रतिको घमण्ड नै अहङ्गार हो । म, मेरो, मेरो धर्म, मेरो सम्प्रदाय, मेरो संस्कार, मैले गरेको, मैले श्रेय पाउनुपर्छ, मैले गर्दा भएको, मैले भनेझैं नै हुनुपर्दछ , म नभएको भए सम्भव थिएन भन्ने ममत्व नै अहंकारमा लैजाने मुख्य कारण हुन्।
    अहंकारको रस लंडाई, झगडा ,द्धन्द क्रोध, काम, लोभ, मोह, द्धैष, इर्श्या र वासना गर्नमा हुन्छ। अहंकारको प्रवृति आफूलाई ठूलो र अर्कोलाई सानो देख्ने किसिमको रहेको हुन्छ । ती अहंकाररुपी भूत जब व्यक्तिउपर हावी हुन्छन तव व्यक्तिको वुद्धि, विवेक, चेतना मर्न थाल्छ र व्यक्तिले वेहोसी एवं नसाको तालमा कार्य गर्छ साथै पछि होसमा आउंदा पश्चाताप गर्नुपर्ने अवस्था बाहेक अरु केहि पनि रहदैन ।
    । मानिस जस्तोसुकै शक्तिशाली किन नहोस्, जस्तोसुकै ज्ञानी, तपस्वी,निस्वार्थी  त्यागी किन नहोस् यदि अहंकारलाई काबुमा राख्नबाट चुक्यो भने उसको पतन निश्चित छ ।  पौराणिक इतिहासमा यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । भस्मासुर, शुम्भ–निशुम्भ, रावण, सबै वरदानी, शक्तिशाली भएर पनि अहंकारका कारण पतन भएका पौराणिक कथामा उल्लेखित अहंकारी पात्रहरू हुन् । धार्मिक मान्यताअनुसार पनि त्रेतायुगमा भएको रामायण युद्ध रावणको अहंकारले गर्दा भयो ।त्यसैगरी द्धापरयुगमा भएको महाभारत युद्ध पनि दूर्योधनको अहंकारको कारणबाटै हुन पुगेको मान्न सकिन्छ ।  महाभारतमा चेडी देशका नरेश शिशुपाल, अहंकारको कारण कृष्णको हातबाट मारिए । त्यस्तै हिरण्याक्ष र हिरण्यकश्यप जस्ता दैत्यहरू वरदानी भएर पनि अन्त भए । यी पौराणिक तथ्यहरू चाहे वास्तविक घटना हुन् चाहे कोही विद्वानले बनाएका कथा हुन् । दुःखको कारण अहंकार हो भन्ने सन्देश दिन्छन् ।
     व्यक्तिको आध्यात्मिक स्तरको एउटा महत्त्वपूर्ण मापदण्ड हो, अहंको मात्रा । यसको अर्थ हो उनको आत्माको सबैतर्फ अनि विद्यमान अन्धकार कति हटेको छ तथा उनको आफ्नो अन्तरात्माको साथ कति पहिचान स्थापित भएको छ ।आत्माको सबैतर्फ अन्धकार अर्थात अहंको अर्थ हो मनुष्यको त्यो प्रवृत्ति जहाँ उनको पहिचान केवल पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिसम्म सीमित हुन्छ । त्यो अहं अर्थात आफ्नो वास्तविक अस्तित्वको ९आत्माको० आध्यात्मिक अज्ञान । हाम्रो आधुनिक शिक्षाप्रणाली र समाजले हामीलाई यही शिक्षा सिकाउछ कि हाम्रो अस्तित्व, हाम्रो देह, मन एवं बुद्धि सम्मनै सीमित छ र हाम्रो वास्तविक अस्तित्व हाम्रो अन्तरात्मा हो, यो तथ्यबाट हामी अनभिज्ञ छौं ।
    अहंकारी व्यक्तिले आफुलाई संसारमा अत्यन्त महत्वपुर्ण ठान्छ, यदि उसले थोरै मात्र सफलता पाएमा आफुलाई सर्वश्रेष्ठ र महान  सम्झन्छ ।यही धन–सम्पत्ति, शारीरीक सौन्दर्य, जाती, वंश, बृद्धि, कला पद प्रतिष्ठा तपस्या, सिद्धि तथा उपलब्धिको आधारमा उसले आफुलाई अरुभन्दा महान सम्झन्छ । यस्ता व्यक्तिले आफ्नो सधै चाकडी र प्रशंसा गर्नेलाई सम्मान गर्ने गर्छन् । यीनले अरुमाथी अधिपत्य जमाउन चाहान्छन् र आफ्नो आलोचना सुन्न चाहान्नन् । यदि कोहीले उसको विरोध र आलोचना गरेमा उसप्रति प्रतिशोध लिन्छन ।
    अहिले सार्वजनिक जीवनयापन गर्नेहरुमा  प्रेम, करुणा, दया, समन्याय, समभाव, समान व्यवहार गर्नु पर्दछ भन्ने सोंच र भाव हराउदै गएको अवस्था विधमान छ। सार्वजनिक जीवनयापन गर्नेहरुमा  अहिंसा, सदाचारीता , नैतिकता, दया भाव , विवेक, प्रेमपूर्ण, करुणावान र परोपकार,मानवीयता  आदि गुणहरु आवश्यक पर्दछ । अहिले सार्वजनिक जीवन अवलम्वन गर्नेहरुमा इर्श्या, द्धेष, क्रोध, हिंसा, घृणा, वैमनस्यता ,अस्वस्थ्य प्रतिस्पर्धाको भावना, अरु सित तुलना जस्ता नकारात्मक भावहरु उव्जने गरेको पाइन्छ । यस्ता कर्मले गर्दा उनिहरुमा कार्य सम्पादनका सिलसिलामा ठूलो अहंकार उत्पन्न हुन आउछ। आफुलाई अर्को सम्झन्छन ।मैले यती गरे,यो मैले गरे, मैले मेरै कार्यकालमा गरे,म नभएको भए यो सम्भव हुने थिएन यो गरे सवलाई अहंकारले समात्छ । जब व्यक्तिमा अहंकार बढदै जान्छ तब अनेक विकृति एवं समस्याहरु देखा पर्न थाल्छ ।
    साधना आरम्भ गरेपछि हाम्रो अहं क्रमशः क्षीण हुन थाल्दछन्  । आफ्नो गल्ति स्वीकार गर्न नसक्नु पनि अहंको लक्षण हो । शरीर, मन र अहंकारको जीवन जीवन होइन, यी तीनबाट मुक्त भएपछि शून्यको र शान्तिको जीवनमा प्रवेश गरी निर्वाण प्राप्त हुन्छ। अहंकार मनको इन्धन हो, मन समस्या हो, अशान्ति हो । मनबाट अहंकारको उत्पति हुन्छ । अहंकार मनको पहिलो सन्तान हो । अहंकारले आफुपछि क्रोध, काम, लोभ, मोह, द्धैष, इर्श्या बोकेको हुन्छ । मनले चल्नेवाला व्यक्ति अहंकारी हुन्छ, मन सधै वासना र अहंकारको साथ चल्ने गर्दछ ।
    अहंकारी व्यक्ति मनलाई मालिक बनाउंछ, मनको मालिक हुन सक्दैन तर निर्दोष र सरल व्यक्ति मनको मालिक हुन्छ । जव मन मालिक बन्दैन तब निर्दोषता, सरलता पैदा हुन्छ, दम्भ ,लोभ र क्रोध मेटिन्छ एवं शान्ति र आनन्द मिल्छ। स्वाभिमानले टाउको उच्च राख्छ भने अहंकारले टाउको निहुरिन्छ । मानिसले सम्पन्न हुन्छु भन्ने सोच राख्नु स्वाभिमान हो तर दम्भले अरूलाई विपन्न देख्नु अहंकार हो ।
    सफलता खोज्नु स्वाभिमान हो तर अरूको असफलतामा हेला गर्नु अहंकार हो । उच्चता खोज्नु स्वाभिमान हो तर अरूलाई कमजोर देख्नु अभिमान हो । अतः विद्वानहरू भन्नुहुन्छ, ‘स्वाभिमान मानव गुण हो भने अहंकार अवगुण हो । स्वाभिमान सम्मान गर्न योग्य हुन्छ भने अहंकार दण्डयोग्य हुन्छ । स्वाभिमान प्रिय हुन्छ भने अहंकार घृणित हुन्छ । अतः विद्वानहरू भन्नुहुन्छ ‘स्वाभिमानको रेखा पार हुनु अहंकारको जन्म हुनु हो । अहंकार सबैभन्दा दुःख हो । अहंकारीको अन्त अत्यन्त दुखद हुन्छ । अहंकारले बुद्धि भ्रष्ट बनाउँछ, विवेकहिन बनाउँछ । वास्तवमा मानवलाई अन्धो बनाउँछ ।
    अहंकार एउटा प्रयोजन हो, जसले धन , शक्ति र पद माग्छ । अहंकार पाएर पनि दुखी हुन्छ । भनिन्छ मानिसको घर जति ठूलो हुंदै जान्छ मन त्यति सानो हुँदै जान्छ । अहंकारले त्यही माग्छ जहाँ केही पाउने आशा हुन्छ । अहंकार त्याहा जादैन, जहां उसले केही पनि पाउदैन । हामी मलाई केन्द्रमा राखेर जीवन चलाई राखेका छौ । हाम्रो दृष्टि अहम केन्द्रित छ तसर्थ हामीलाई अहंकारको पर्दाले घरेको छ। भनिन्छ अहंकारभन्दा ठूलो अरु पाप छैन बांकी सारा पाप अहंकारबाटै उत्पन्न हुन्छन ।
    अहंकार ,क्रोध र कल्पनाबाट संसारका मानिसले धेरै धोका खान्छन, जहां अहंकार हुन्छ त्यंहा अनेक विपत्तीहरु आई लाग्छन, ज्ञानलाई अहंकारले नष्ट गर्छ । काम, क्रोध, लोभ,मोह, अभिमान, अहंकार जस्ता दुर्गणहरु जवसम्म ह्दयमा निवास रहन्छन तवसम्म पण्डित र मूर्ख दुवै एक समान हुन् । दोश्रोको नजरमा अहंकारी व्यक्तिमा धोकेबाज, निन्दक, वेइमान, लोभी, शोषक, भोगी, स्वार्थी, इर्श्यालु, कंजुश, चोर, डांकु, तानाशाह, गुण्डा, नेतागिरी , दादागिरी, चम्चा, आतंकवादी, मोहग्रस्त, सन्की, दम्भी, कठोरदील, निर्मोही, मूर्ख, बकबासी, रुढीवादी, कटाक्षी, जिद्धी, अवज्ञाकारी, धुर्त, पाखण्डी, चलाख, यशाकांक्षी, निकृष्ट, पापी, तुच्छ, दुस्साहसी जस्ता दुर्गुणहरु रहेका हुन्छन ।
    धनवान, पदवान मानिसहरु जति अहंकारी देखिन्छन त्यति अहंकारी सामान्य मानिस देखिदैन र हुदैन । धन र पद भएका मानिसहरुमा क्रोध र अहंकार बढी हुन्छ । उनीहरुमा यती अहंकार हुन्छ की दुईजना जव एक अर्कासंग भेट हुन्छन् पहिला कसले कसलाई नमस्कार गर्ने भन्ने अहंम हुन्छ । अहंकारले सर्मपणमा वाधा दिन्छ । कोही पनि अहंकारले मुक्त नभई सर्मपण गर्न सक्दैन।  मेरोपन अर्थात ममत्वको भाव नै हिंसा भएकोले समग्र हिंसा आफ्नो र पराईको विचमा तानिएको सीमा रेखाबाट हुन्छ । कुनै पनि म, मेरोको भावना नै मोहको निस्सा हो ।
    भनिन्छ व्यक्तिले आप्नो जीवनमा दुईप्रकारको यात्रा गर्न सक्छ एक शक्तिको र अर्को शान्तिको, शक्तिको यात्रा अहंकारको यात्रा हो, शक्तिले सत्य जान्दैन। अहंकारको अनुपस्थितिमा आनन्द प्राप्त हुन्छ ।अहंकारको पूर्ण अन्त भएमा विनम्रताको आगमन हुन्छ । अहंकारी व्यक्तिहरु आक्रमक र हिंसक हुन्छ ।  अरुलाई निर्भय भएको देखाउन खोज्छन  । उनीहरु ठूलो पदको खोजमा,  धेरै धनको लोभमा, यशको खोजमा लागिरहेका हुन्छन।उनिहरु सुरक्षित रहन चाहन्छन की भोली रोग,गरिबी,मृत्यु जेसुकै आओस कुनै डर छैन। भित्रको भयको कारण सुरक्षाको सवै उपाय अपनाउछन ।
    जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारलाई दुःखका कारण मान्न सकिन्छ तर सबै अवस्थामा दुःखको कारणको रूपमा मान्न उचित हुँदैन । यी पाँच तत्वहरू प्राकृतिक हुन् । मनुष्य जीवनमा यसको आवश्यकता अनिवार्य छ ।संवेदनाहरू सबै अवस्थामा विकार हुँदैनन् । लोभले मानवलाई अतृप्त तृष्णामा डुबाउँछ र सत्य, नैतिकता र कर्तव्यबाट अलग गरिदिन्छ । मानिसलाई आवश्यकताभन्दा धेरै मोहले दुर्बल बनाउँछ । दुर्बलता विनाशको मार्ग हो । अहंकारको प्रभावले मानवलाई अपराधी बनाउँछ ।आध्यात्मिक मान्यताअनुसार  मानिसभित्र क्रोधका चार तह हुन्छन । सवभन्दा भित्री पत्र भाव हो , त्यसपछि विचारको तह हो, तत्पश्चात वाणीको तह र सवभन्दा वाहिरको तह कर्मको हुन्छ ।
    जव हामी हिंसाको रुपको कार्य गर्छौ त्यो क्रोधको कर्म वन्छ, विचारमै हामी सजग भयो भने त्यही रोकिन्छ र क्रोधले विदा लिन्छ । क्रोध अचेतन मनबाट उत्पन्न हुन्छ, चेतन मनबाट होइन तसर्थ सर्वप्रथम अचेतन मनलाई जगाउनु पर्छ, प्रकाश पु¥याउनु पर्छ, निरीक्षण गर्नुपर्छ। वृत्ति जंहाबाट उठछ त्यो थाहा पाउनु पर्छ, चित्तको अनुगमन गर्नुपर्छ । अहंकारबाट मुक्त हुन सर्वप्रथम हामीले आफुभित्र कुन प्रकारको अहंकारको भूत हावी छ त्यसप्रति सजग हुनु जरुरी छ । अहंकारका विभिन्न भूतप्रति हामी  सजग हुन सकेमा अहंकार निश्कृय हुन्छ र ह्दय प्रेमले भरिन्छ । अक्सर हामी आफ्नो अहंकारको भूतको पुष्ट्याई गर्न कोशिस गर्छौ, तर्क विर्तक गर्छौ, आफ्नो भूतलाई तर्कद्धारा प्रमाणित गर्न खोज्छौ तर यस्तो कार्य गर्दा झन अर्को अहंकारको भूत थप हुन्छ । ।सर्बप्रथम  आफ्नो अहंकार आफै थाहा पाउने चेष्टा गर्नुपर्छ । जस्तै ,चरित्रकेन्द्रित अहंकार भएको व्यक्तिले आफ्नो भित्री अपराध वोधमा म खराव हुं भन्ने वोध एवं स्मृति भएमा पश्चाताप गर्छ र अहंकार हराउछ ।
    जो व्यक्तिमा अहंकार हुन्छ र धेरै रिस उठ्छ, उसलाई दुश्मनको आवश्यकता नै पर्दैन । अहंकारलाई  निश्कृय पार्न प्रेम, मैत्री र करुणा बढाउनु पर्छ ।मैत्री र करुणामा म र मेरोको भेद हुंदैन । प्रत्येक व्यक्तिले आफूभित्रको अहंकारलाई नीरिक्षण गर्दै चेतनाको दियो जगाउने प्रयास गर्नु आवश्यक पर्छ ।कतिपय अवस्थामा शारीरिक, मानसिक र भावनात्मक लहडको कारण व्यक्तिको अहंकार उच्च तहमै पुगिसकेको हुन्छ। यीभन्दा माथि उठेर व्यक्ति शरीर, मन र भावना मात्र नभई आन्तरिक चेतना हो भन्ने बोध भएको क्षण अहंकार निस्तेज हुन पुग्दछ।अहंकार उन्नति र प्रगतिको बाधक हो। सार्वजनिक जीवनमा सफलता प्राप्त गर्ने हो भने अभिमान, अहंकार त्यागी अगाडी बढ्नुको विकल्प छैन । साँचो उन्नतिको मार्ग विनम्रता, आत्मज्ञान र सहिष्णुताबाट मात्र खुल्छ।
    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख  कोष नियन्त्रक हुन् ।)