विराटनगर– कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८२– ८३ को नीति तथा कार्यक्रम पारित भएको छ। आज (आइतबार) बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२– ८३ को नीति तथा कार्यक्रम पारित गरेको हो।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको घोषणा गरे।
कोशी प्रदेशमा कांग्रेस–एमालेको दुईतिहाइ बहुमतको सरकार छ। नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।
उनले प्रदेशको दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार पारिएको दावी गरे। ‘कतिपय नीति सर्वकालीन हुन्छन्, कति फेरिन्छन्,’ उनले भने,‘हामीले पहिलाको भन्दा फरक ढंगले, भिन्न ढंगले संक्षिप्त बनाउन चाह्यौं। संक्षेपत्रमा सबै विषयलाई समेटेर केही महत्वपूर्ण प्रोग्रामलाई संघ र अरु क्षेत्रसँग सहकार्य गर्ने भनेका छौं।
नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा राष्ट्र प्रमुखको घर प्रदेशले संरक्षण गर्ने विषय समेटिएको थियो। यो नीतिमा प्रश्न उठेपछि मुख्यमन्त्री कार्कीले पूर्वराष्ट्र प्रमुखको घर प्रदेशले जिम्मेवारीमा लिएर संग्राहलयको रूपमा विकास गर्ने बताए। ‘कोशी प्रदेशले ल्याएको नीति समग्रमा धेरै राम्रो र सबैसँग प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्न सक्नेछ,’ उनले भने।