विराटनगरको बजेट खर्च १० महिनामा एक अर्ब बढी, ४२ करोड २० लाख आम्दानी - Chaitanya News
  • 2026-07-05
  • 13:19:05
  • आइतबार,आषाढ २१, २०८३
  • विराटनगरको बजेट खर्च १० महिनामा एक अर्ब बढी, ४२ करोड २० लाख आम्दानी

    विराटनगरको बजेट खर्च १० महिनामा एक अर्ब बढी, ४२ करोड २० लाख आम्दानी

    विराटनगर– विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ। महानगरपालिकाले कर्मचारीको तलबभत्ता र विकास निर्माणमा १० महिनामा एक अर्ब २२ करोड रुपैयाँ खर्च गरेको हो।

    १० महिनाको अवधिमा तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ। पोशाकमा ४१ लाख ९० हजार र कर्मचारी बैठक भत्तामा ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ।

    यस्तै, पदाधिकारीको सुविधाका लागि एक करोड ५३ लाख १८ हजार र पदाधिकारीको बैठक भत्तामा लागि ६ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ। अन्य भत्ताको शीर्षकमा दुई करोड ११ लाख ५८ हजार १३४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले करार सेवा शुल्क शीर्षकमा ४ करोड ३९ लाख ५४ हजार १४५ रुपैयाँ खर्च गरेको छ।

    चालु आर्थिक वर्षका लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट ल्याएको महानगरपालिकाले सडक तथा पुल निर्माणमा १८ करोड १३ लाख ३९ हजार ६०८ रुपैयाँ खर्च गरेको छ। यो शीर्षकमा ७१ करोड ८४ लाख २८ हजार रपैयाँ बजेट विनियोजन भएको थियो। अन्य सार्वजनिक निर्माणमा विराटनगर महानगरपालिकाले एक करोड ६६ लाख ९५ हजार ४०२ रुपैयाँ खर्च गरेको छ।

    जेठ ५ गतेसम्म विराटनगर महानगरपालिकाले ४२ करोड २० लाख १९ हजार ३७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ। महानगरले सम्पत्ति करबापत १३ करोड ४३ लाख ७ हजार र मालपोत कर बापत एक करोड २४ लाख ५ हजार १९७ रुपैयाँ आम्दानी गरेको हो।

    गतवर्ष महानगरले ६१ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो। चालु आर्थिक वर्षमा विराटनगरको आम्दानीको लक्ष्य एक अर्ब १० करोड रुपैयाँ छ।