काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपाल पराजित भएको छ।
नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्यो। थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्यो।
थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन्। रुबिना क्षेत्रीले १२ रन बनाइन्।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन् । त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन्। सुलिपर्न लाओमीले १ विकेट लिइन्।
त्यसअघि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको थियो। थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन्। उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन्।
ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिए।
नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन्। सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो।
त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो।