प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट, नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श - Chaitanya News
  • 2026-06-27
  • 01:19:52
  • शुक्रबार,आषाढ १२, २०८३
  • प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट, नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श

    प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट, नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन्।

    भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए । उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दलहरू नेकपा ९एमाले० र नेपाली काँग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरे।

    प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट गरे। ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसात् गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट गरे। उनले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने जनाए।

    प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गरे।

    युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए। उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए। राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए।