सनराइज मिडियाको क्विज कन्टेस्ट २०८१ सम्पन्न – चैतन्यले प्रदान गर्‍यो एक लाख राशिको प्रथम पुरस्कार । - Chaitanya News
  • 2025-05-15
  • 16:04:25
  • बिहिबार,जेठ ०२, २०८२
  • सनराइज मिडियाको क्विज कन्टेस्ट २०८१ सम्पन्न – चैतन्यले प्रदान गर्‍यो एक लाख राशिको प्रथम पुरस्कार ।

    सनराइज मिडियाको क्विज कन्टेस्ट २०८१ सम्पन्न – चैतन्यले प्रदान गर्‍यो एक लाख राशिको प्रथम पुरस्कार ।

    धनगढी – सनराइज मिडियाले आयोजना गरेको सनराइज क्विज कन्टेस्ट २०८१ सम्पन्न भएको छ। कैलाली र कञ्चनपुरका विद्यालयहरूको सहभागिता रहेको विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज एक कार्यक्रमका बिच धनगढीमा रहेको रौसाई पार्टी प्यालेसमा समापन गरिएको हो।

    समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहेका थिए भने सनराइज मिडियाका अध्यक्ष उत्तम थापा सभापति रहेका थिए । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका स्थानीय तहका विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा कञ्चनपुरको भीमदत्तबाट सहभागी भएको भुवनेश्वरी माध्यमिक विद्यालयको टिम प्रथम भएको छ भने दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय गोदावरी र क्याम्रिज इंग्लिश बोर्डिङ स्कुल द्वितीय भएका छन् ।

    सनराइज मिडियाले आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रायोजकको रूपमा धनगढी ५ शिव नगरमा रहेको चैतन्य पाठशाला रहेको थियो। जसले प्रतियोगितामा सहभागी भएर प्रथम स्थान हासिल गर्न सफल भुवनेश्वरी विद्या मन्दिरलाई प्रथम पुरस्कार अर्थात् रु १ लाख नगद पुरस्कार हस्तान्तरण गरेको थियो। पाठशालाको तर्फबाट कार्यक्रममा उपस्थित विद्यालयका निर्देशक कटक बहादुर सिंह र सामाजिक सद्भावना दूत भरतविक्रम शाहले उक्त पुरस्कार प्रदान गरेका थिए।

    कार्यक्रममा बोल्दै शाहले चैतन्य पाठशाला सुदूरपश्चिम लगायत देशभरिकै विभिन्न क्षेत्रहरूमा विभिन्न तवरबाट प्रस्तुत हुँदै आएको र विशेष गरी शिक्षा क्षेत्रमा चैतन्य पाठशालाको सहयोग रहँदै आएको र आगामी दिनमा समेत निरन्तर रहने जानकारी दिए । उनले भने शिक्षा क्षेत्रमा नवीनतम प्रयासहरूमा चैतन्य पाठशाला सदैव सहयोग गर्नेछ। शिक्षा मात्रै नभई सामाजिक क्षेत्रमा समेत चैतन्य पाठशाला सदैव अगाडि रहेको छ।

    त्यस्तै सनराइज मिडियाका अध्यक्ष उत्तम थापाले सुदूरपश्चिममा पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारित ठुलो धनराशिको हाजिरी जवाफ प्रतियोगितामा प्रमुख प्रयोजकको रूपमा जोडिएर चैतन्य पाठशालाले ठुलो सहयोग गरेको कुरा व्यक्त गरे । यस्तै आगामी वर्ष यो प्रतियोगितालाई बृहत् रूपमा सुदूरपश्चिमका प्रत्येक जिल्लाहरूमा असारदेखि नै अडिसन हरू शुभारम्भ हुने जानकारी दिए।