मानवीय मूल्य र शिक्षा समृद्ध समाजको मार्गचित्र - Chaitanya News
  • 2025-05-15
  • 16:36:21
  • बिहिबार,जेठ ०२, २०८२
  • मानवीय मूल्य र शिक्षा समृद्ध समाजको मार्गचित्र

    मानवीय मूल्य र शिक्षा समृद्ध समाजको मार्गचित्र

    तोमनाथ उप्रेती:
    उपसचिव ,नेपाल सरकार
    “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामयाः।
    सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्भवेत्।”
    यो श्लोक संस्कृत भाषामा प्राचीन वेद(उपनिषद् तथा शान्ति मन्त्रहरूमध्ये एक हो, जुन सबै जीवहरुको कल्याण, सुख, स्वास्थ्य र शान्तिको कामना गर्दछ। यसको अर्थ अत्यन्त गहन र विशाल छ। सबै प्राणीहरू सुखी होऊन्, सबैले रोगमुक्त जीवन जिउन्, सबैले शुभ र राम्रो कुरा देखून् र कुनै पनि प्राणीले कहिल्यै दुःख भोग्न नपरोस्।

    यस श्लोकले मानव मात्र होइन, सम्पूर्ण जीव जगतप्रति समान प्रेम, सहानुभूति र सद्भावना व्यक्त गर्दछ। यहाँ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण सृष्टिको समृद्धि र कल्याणको कामना गरिएको छ। सर्वे अर्थात सबै, भवन्तु सुखिनः भन्नाले सबै सुखी रहून् भन्ने भावनालाई दर्शाउँछ। सर्वे सन्तु निरामयाः भन्ने वाक्यांशले सबै रोगरहित, स्वस्थ र निरोगी रहून् भन्ने शुभेच्छा प्रकट गर्दछ। सर्वे भद्राणि पश्यन्तुू भन्नाले सबैले शुभ र कल्याणकारी कुरा देखून्, अनुभव गरून् भन्ने कामना गरिएको छ। अन्ततः मा कश्चित् दुःख भाग्भवेत् भन्नाले कुनै पनि प्राणीले दुःखको अनुभव गर्न नपरोस् भन्ने गहिरो भावनात्मक समर्पण प्रस्तुत गरिएको छ।

    यो मन्त्र विश्वशान्ति, समृद्धि र एकताको सन्देश दिन्छ। आजको युगमा, जहाँ तनाव, द्वेष, ईर्ष्या र हिंसाले मानिसलाई ग्रसित बनाइरहेको छ, त्यहाँ यस्तो श्लोकले समर्पण, प्रेम र करुणा फैलाउने प्रेरणा दिन सक्छ।यस्तो भावना विकसित गर्नाले व्यक्तिगत जीवनमा मात्र होइन, सामाजिक र वैश्विक सन्दर्भमा पनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। प्रत्येक व्यक्तिले आफ्नो मन, वचन र कर्मद्वारा यस्तो शुभ भावना पालना गरेमा पृथ्वी नै एक स्वर्ग बन्न सक्छ। आजको जटिल विश्वमा, जहाँ विविधता र मतभेदले द्वन्द्व निम्त्याउने खतरा छ, यस्ता सार्वभौमिक मान्यता र संस्कारले सबैलाई एकताको डोरीमा बाँध्न सहयोग पुर्याउँछ।

    इमान्दारीता, प्रेम, दया, सद्भाव, करुणा, विश्वास, निप्पक्षता, बौद्धिकता, र सहयोगीपन जस्ता गुणहरू मानवीय मूल्य हुन् । समाजमा यी मूल्यहरूको महत्व बुझ्न र कार्यान्वयन गर्नका लागि शिक्षा, परिवार, समाज, र शैक्षिक संस्थाहरूको योगदान आवश्यक छ। मानव मूल्यहरूको अभिवृद्धि र शिक्षा भनेको सत्य, धर्म, शान्ति, प्रेम, र अहिंसाका मूल्यहरूलाई व्यवहारमा लागू गर्नु हो। सार्वजनिक क्षेत्र व्यवस्थापनमा यी मानवीय मूल्यहरूको उचित प्रयोगले समृद्धि, सामाजिक न्याय, सुशासन, र भ्रष्टाचारमुक्त व्यवस्था बनाउन मद्दत पुर्याउँछ। मानवीय मूल्यले मानवलाई अन्य प्राणीहरू भन्दा उत्कृष्ट र चेतनशील बनाउँछ।

    मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन् । सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ ।

    वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ ।

    मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि ,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ । वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ । मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन् । समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ ।

    नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डो¥याउने प्रयास हुँदै आएको छ ।समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ । नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ ।

    मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।

    नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन जोड दिन्छ । पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ । अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ ।

    सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणहरुलाई व्यवहारमा नै प्रयोग गर्न उत्पे्ररित गराउनु पर्छ । बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ । समाजका आधारभूत मान्यता र चरित्रहरुबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ । समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ । व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार वनाइनु पर्दछ ।

    समाजमा बस्ने मानिसहरुको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ । समाजमा सद्गुणी,आचरणयुक्त,विवेकी,न्यायपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ । व्यक्तिको मुल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत सगै अगाडि बढाउनु पर्छ । सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ । समय समयमा जनचेतनामुलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर सामाजिक क्लब, संघसंस्थाहरुलाई परिचालन गरी समाजको कुरिती र कुसंस्कारको अन्त्य गर्न प्रयोग गर्नु पर्दछ । हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यतावारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ ।

    यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पुर्याउने व्यक्ति शिक्षित व्यक्ति हो ।नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो ।वर्तमान शिक्षाले भाषा र अवधारणा सिकायो । तर, आफूसँग र अरूहरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउन सकेन । आजकलको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा भवनमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको रहेको छ । सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो ।

    जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु, जीवनका कठिनतम् क्षण, असफलतामा आफूलाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड्नुलाई सामान्य विषय मान्दै नहडबढाइ उठ्ने र सम्हालिएर फेरि हिंड्न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो । शिक्षा जीवनको मूल्यलाई अधिक बनाउने साधन हो । मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ । सभ्य मानव, समुदाय र समाजको निम्ति उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा । त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन् । सिक्ने र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ । यो निरन्तर प्रक्रिया हो ।

    किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ ।शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ । त्यस युद्धमा हामी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिन सक्नु पर्दछ ।

    अध्यात्मवादले आत्मालाई सर्वपरी र ब्रह्माण्डको मूल मान्दछ, जसको माध्यमबाट व्यक्तिले जीवनका उद्देश्य, कर्तव्य र आत्मज्ञानलाई खोज्छ। अध्यात्मवादको उद्देश्य व्यक्तिको मानसिक, भौतिक र आध्यात्मिक पक्षलाई समन्वय गर्नु हो, जसले जीवनलाई अर्थपूर्ण बनाउँछ। यो शिक्षाले मानिसलाई आत्मा, सत्य, धर्म र शान्तिका साथ जीवन यापन गर्ने प्रेरणा दिन्छ। आध्यात्मिक जीवनका अभ्यासले मानवीय मूल्यहरू, जस्तै सहिष्णुता, करुणा, समानुभूति, र सहयोगी भावना प्रकट गर्न मद्दत गर्छ।

    समाजका बुद्धिजीवी एवं प्रबुद्ध वर्गले आफूलाई कम आँकलन गर्नु हुँदैन। उनीहरूको अनुकरण पछाडिको वर्गले गरिरहेका हुन्छन्। प्रायः नागरिकहरूले अग्रजको भूमिकालाई नमुनाको रूपमा हेरेका हुन्छन्। यसरी राजनेताको आदर्शलाई पनि अनुशरण गर्न अभिभावकले आफ्ना सन्ततिलाई समेत भन्ने गर्छन्। यस्ता व्यक्तित्वहरूमा संस्कारयुक्त व्यवहार र चरित्र राम्रो हुनसकेमा नै सिंगो समाज सुशील र भद्र बन्ने हुन्छ। यस्ता व्यक्तिहरूले आफ्नो स्वार्थका लागि काम गर्ने होइन, समाजको स्वार्थका लागि काम गरेको देखाउन सक्नुपर्छ। हाम्रो समाजका विद्यमान पिछडिएका व्यक्तिका समुदायलाई माथि उठाउन राजनेता र प्रबुद्ध वर्गबाट योगदान पुर्याउनुपर्छ। नागरिक शिक्षाले प्रजातन्त्र बारेमा ज्ञान प्रदान गर्नुका साथै देशको प्रशासन, संसद, सरकार राज्यको नागरिक समाजप्रतिको भूमिका आदिलाई उजागर पार्छ। नागरिक शिक्षा यस्तो शिक्षा हो, जसले नागरिकलाई आफ्नो भलो कसरी गर्ने, समस्याको निदानमा अन्य सहयोगी मित्र र सरकारको सहयोग कसरी लिने, कमजोर र सीमान्तकृत वर्गको उत्थान कसरी गर्ने र सहअस्तित्वको भावना कसरी बढाउन एकआपसमा मिलिजुली शान्ति र संस्कृतिको निर्माण कसरी गर्नेसम्मको पाठ नागरिक शिक्षाबाट सिक्न सकिन्छ।

    लोकतान्त्रिक समाज निर्माणका लागि समाज सञ्चालकलाई स्वच्छ, सक्षम, विश्वसनीय, जवाफदेहि, पारदर्शी र नतिजामुलक बनाउनु आवश्यक छ। यसका लागि सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यहरूको कार्यान्वयन गर्नुपर्ने छ। अहिले प्रशासनमा नातावाद, कृपावाद र चाकरी जस्ता विकृतिहरू छन् जसले सार्वजनिक क्षेत्रलाई कुरुप बनाइदिएको छ। यसबाट मुलुकलाई बचाउँदै, राज्य व्यवस्था संचालनमा गतिशीलता ल्याउन र नागरिकहरूको भविष्य उज्जवल बनाउन मानवीय मूल्य, मुल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादको योगदान अत्यन्त महत्वपूर्ण छ। (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)