कोशी प्रदेश लगानी सम्मेलन २०२५आजबाट सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा - Chaitanya News
  • 2025-05-15
  • 15:25:27
  • बिहिबार,जेठ ०२, २०८२
  • कोशी प्रदेश लगानी सम्मेलन २०२५आजबाट सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा

    कोशी प्रदेश लगानी सम्मेलन २०२५आजबाट सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा

    काठमाडौँ– कोशी प्रदेश लगानी सम्मेलन २०२५ आजबाट सुरु भएको छ। प्रदेश सरकारले आयोजना गरेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उद्घाटनको क्रममा स्वस्ति वाचन गरिएको थियो। सम्मेलन २ दिनसम्म चल्नेछ।

    सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन्। यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ। मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको पनि उपस्थिति छ।

    प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ। जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटी र फोहोर प्रशोधन लगायतका क्षेत्रका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले बताए।

    सम्मेलनमा २ दर्जनभन्दा बढी परियोजनामा सम्झौताको सम्भावना सुनाउँदै कोइरालाले भने,‘दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने गरी फाइनल चरणको कुरा भइसकेको छ।

    सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजनाहरू राखिएको छ। लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले नीतिगत प्रतिविद्धतासमेत गरेको छ।

    लगानी सुरक्षित गर्न र अड्चनहरू हटाउन सरकारले ८ वटा कानून अध्यादेशमार्फत संशोधन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कार्कीले प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए। एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफलपछि परियोजना छनोट गरिएको उनले सुनाए।

    प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाको सूची तयार गरी तिनको प्राविधिक एवं आर्थिक अवस्थाको विश्लेषणसहित लगानीकर्तासमक्ष पेश गरिनेछ। साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताबाट प्राप्त आयोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानीका लागि निम्त्याइने छ।