आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै - Chaitanya News
  • 2026-07-05
  • 15:12:24
  • आइतबार,आषाढ २१, २०८३
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ– आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

    श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

    विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्। यस पटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।

    सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ। सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सात जना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो।

    पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। नेपालमा पनि विराटनगरमा बि.सं. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र बि।सं। २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो। बि.सं.२०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ।

    यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो। नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलो पटक बि.सं. २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो।