काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान गरेका छन्। मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेका हुन्। भारत सरकारको निमन्त्रणामा मङ्गलबार टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट एक साताका लागि भारत भ्रमणमा गएको हो।
दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरको औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको हो। वैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहेको छ।
भारत भ्रमण जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताए। टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ।
पहिलो दिन भ्रमण टोली काठमाडौँबाट हवाई मार्ग हुँदै दिल्ली जानेछ। दोस्रो दिन दिल्लीमा सङ्घीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया रहेको छ।
टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण गर्नेछ। उत्तराखण्डका मुख्यमन्त्री तथा कृषि मन्त्रीसँगको भेटपछि टोली लखनउ हुँदै स्थल मार्गबाट कैलाली फर्किने कार्यक्रम तय गरिएको छ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन्।