काठमाडौं– खोस्टा मुङ दालको मूल्य बढेको छ। रहर, मुसुरो, चना दालको मूल्य भने स्थिर छ। नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले खोस्टा मुङको मूल्य बढेको देखाएको हो।
संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ।
१५ दिनअघिको तुलनामा खोस्टा मुङको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ। १ वैशाखमा खोस्टा मुङ दाल प्रतिकिलो १ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो। अहिले भने उक्त दालको मूल्य किलोको २ सय रुपैयाँ कायम छ।
यस्तै तथ्यांक अनुसार रहर दाल प्रतिकिलो २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। १५ दिनअघि पनि रहर दाल सोही मूल्यमा कारोबार भएको थियो। मुसुरो दालको मूल्य प्रतिकिलो १ सय ६५ र चना दाल १ सय ७० रुपैयाँ कायम छ।
छाटा मुङ प्रतिकिलो १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मुङ गेडाको मूल्य पनि बढेको छ। १५ दिनअघि १ सय ९० रुपैयाँमा कारोबार भएको मुङ गेडाको मूल्य १० रुपैयाँले बढेर २ सय रुपैयाँ कायम छ।
नेपालमा दालको उत्पादन कम मात्रामा हुने हुँदा भारत लगायत अन्य देशबाट आयात हुँदै आएको छ।