काठमाडौँ– तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले ती प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको हो। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो।
गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई मन्त्रालयमा तानिएको छ। सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको भन्दै व्यापक आलोचना भएपछि मन्त्रालयले उपसचिवद्वय पौडेल र जैसीलाई मन्त्रालयमा तानेर सहसचिवद्वय थापा र गैह्रेलाई पठाएको हो।
त्यस्तै गृहमा जगेडामा रहेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।