काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् ।आज (सोमबार) प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे।
पर्यटन मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे। “दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ”, उनले भने।
मन्त्री पाण्डेले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशीलरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको उल्लेख गरे । उनले प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवा सुविधा नघट्ने गरी विधेयकमा प्रबन्ध गरिने स्पष्ट पारे।