काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन्।आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यस्तै उनले पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उनले बताए।
शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको उनले बताए। आफू तीन दिन अगाडि गाउँबाट फर्किएको उल्लेख गर्दै उनले गाउँमा दुई दर्जन जति बालबालिका चोटपटक लागेको अवस्थामा पाएको बताए।
कसरी चोटपटक लाग्यो भन्दा अभिभावकले स्कुल जान नपाएको र भिर पाखामा चल्दा लडेर चोटपटक लागेको सुनाएको सांसद शर्माले बताए।
शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ। तर, सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भनेर आलोचना गरे।
संविधान अनुसार ऐन बनाउनुपर्ने धेरै ढिलो भइसकेको उल्लेख गर्दै उनले सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए।