अब ७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिइने - Chaitanya News
  • 2026-07-05
  • 16:23:29
  • आइतबार,आषाढ २१, २०८३
  • अब ७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिइने

    अब ७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिइने

    काठमाडौं– नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ। जसले २०३५ सालको पर्यटन ऐन विस्थापित गर्ने छ।

    सरकारले ७ हजार मिटरभन्दा अग्लो नेपालको कुनै पनि हिमाल आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमतिपत्र जारी गर्ने उक्त विधेयकमा उल्लेख छ।

    यसका साथै स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य गर्दै विधेयकमा स्वास्थ्य स्थिति सन्तोषजनक नदेखिए पर्वतारोहण गर्न वा पर्वतारोहण दलसँग जान अनुमति नदिइने प्रावधान समेत विधेयकमा समेटिएको छ।

    अहिले सगरमाथामा अन्धाधुन्ध अनुमति दिइएको भन्दै आलोचना हुने गरेको छ। नयाँ प्रावधान अनुसार पर्वतारोहण दलको सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण पथप्रदर्शक र अन्य पर्वतारोही सहयोगीका लागि नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पछिल्लो एक महिनाभित्र गरिएको स्वास्थ्य परीक्षण प्रमाणपत्र समेत पेस गर्नुपर्ने प्रावधान विधेयकमा छ।

    हिमालमा साहसिक पर्यटन क्रियाकलाप गर्न अनुमति अनिवार्य;

    विधेयकमा हिमालचुलीमा साहसिक पर्यटन गतिविधि गर्न भने अनुमति लिनुपर्ने भएको छ।

    हिमालचुलीबाट प्याराग्लाइडिङ, स्काई डाइभिङ, हेली स्किइङ, अल्ट्रालाइट वा यस्तै प्रकृतिका अन्य साहसिक पर्यटन क्रियाकलाप गर्न चाहे पर्वतारोहीले पर्यटन मन्त्रालय वा तोकिएको निकायबाट अनुमति लिर्नुपर्ने गरी सर्त राखिएको छ।

    एक पटक आरोहण अनुमति लिएको समूहले सोही वर्ष आरोहण नगरे दस्तुर फिर्ता नहुने समेत प्रावधान राखिएको छ। तर, काबु बाहिरको परिस्थितिमा भने सरकारले निर्णय गरेर समय सार्न सक्ने भएको छ। पर्वतारोहण दलले निर्धारित पर्वतारोहण मार्गमात्र प्रयोग गर्नुपर्ने भएको छ।