काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले विकास र समृद्धिको यात्रा तीव्रतापूर्वक अघि बढाएपछि एमालेमाथि घेराबन्दी सुरु भएको बताएका छन् ।आज (शुक्रबार) ललितपुरको खुमलटारमा भएको प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले वर्तमान सरकारले विकास र समृद्धिको यात्रा तीव्रतापूर्वक अघि बढाएको समेत बताए ।
उनले भने मुलुक विकास र समृद्धिको यात्रामा अघि बढिरहेका बेला अवरोध सिर्जना गर्न एमालेमाथि नै चौतर्फी घेराबन्दी सुरु भएको छ।
महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले एमाले माथिको घेराबन्दी विकास र समृद्धिको यात्रालाई रोक लगाउने र मुलुकलाई पुनः अस्थिर र अँध्यारो युगमा प्रवेश गराउने उद्देश्यमा केन्द्रित रहेको दावी गरे।
‘देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बेला हाम्रो पार्टीमाथि घेराबन्दी सुरु भएका छन्। यो मुलुकलाई असफल बनाउनका लागि हो,’ पोखरेलले भने, ‘हाम्रो नेतृत्वमा अघि बढेका रणनीतिक योजनालाई अवरुद्ध गर्ने मुख्य उद्देश्य प्रमाणित भइसकेका छन्। यसप्रति सञ्चारकर्मीको खबरदारी आवश्यक छ।
पञ्चायतकालमा ९ हजार किलोमिटरको हाराहारीमा रहेको सडक सञ्जाल हाल एक लाख १० हजार किलोमिटर पुगेको सन्दर्भ प्रस्तुत गर्दै उनले जनजीविकामा आएको परिवर्तनलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औंल्याए।
नेपाल अब असमानताबाट समानतातर्फ अघि बढेको भन्दै उनले हाल गरिबी शून्य दशमलव ७ मा झरेको र उपभोगको असमानता घट्दै गएको बताए। ‘मुलुकमा केही भएको छैन’ भन्ने प्रवृत्तिलाई सञ्चारको माध्यमबाट चुनौती दिनुपर्ने धारणा महासचिव पोखरेलको छ।
सूचना भन्दा भ्रममा बाँच्नेहरूको मानसिकतालाई परिवर्तन गर्न सञ्चार क्षेत्रको भूमिका झनै महत्वपूर्ण रहेको भन्दै उनले समाजमा अस्थिरता फैलाउने तत्वहरू प्रति सचेत रहन सञ्चारमाध्यमलाई आह्वान गरे। ‘जीवन निर्वाहको प्रणाली परिवर्तन भइरहेको छ। जनजीवनमा सुधार आएको यथार्थलाई सञ्चारमाध्यमहरूले प्राथमिकतामा राख्नु पर्दछ,’ महासचिव पोखरेलले भने।
एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, फोनेजका अध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितलगायतले मन्तव्य राखेका थिए। उनीहरूले समाजमा समानता, स्थिरता र समृद्धिको पक्षमा सञ्चारमाध्यमले सार्थक हस्तक्षेप गर्नुपर्ने बताए।
बैठकको अध्यक्षता प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले गरेका थिए।