छतिवन ताल संरक्षण अभावमा ओझेलमा, पर्यटकको पर्खाइमा डोटीको पर्यटकीय सम्भावना–(फोटो फिचर) - Chaitanya News
  • 2025-05-15
  • 16:34:12
  • बिहिबार,जेठ ०२, २०८२
  • छतिवन ताल संरक्षण अभावमा ओझेलमा, पर्यटकको पर्खाइमा डोटीको पर्यटकीय सम्भावना–(फोटो फिचर)

    छतिवन ताल संरक्षण अभावमा ओझेलमा, पर्यटकको पर्खाइमा डोटीको पर्यटकीय सम्भावना–(फोटो फिचर)

    धनगढी – सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको जोरायल गाउँपालिका–२ मा अवस्थित छतिवन ताल, आफ्नो ऐतिहासिकता, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाका बाबजुद पनि उपेक्षाको सिकार बनेको छ। यतिखेर यो ताल संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माण अभावका कारण पर्यटकहरूको प्रतीक्षामा चुपचाप रहेको छ।

    स्थानीय बासीहरूका अनुसार, परापूर्व कालमा छतिवन तालको स्थानमा उपजाउ जमिन थियो। त्यही जमिन समय क्रममा प्राकृतिक रूपान्तरण हुँदै तालमा परिणत भएको जनश्रुति पाइन्छ। यसले तालको ऐतिहासिकता मात्र होइन, सांस्कृतिक रूपमा पनि यस क्षेत्रको महत्वलाई दर्साउँछ। तर यति महत्त्वपूर्ण र सुन्दर प्राकृतिक सम्पदा वैज्ञानिक अध्ययन र तथ्याङ्क अभिलेखनमा समेत ओझेलमा परेको छ। तालको वास्तविक गहिराइ कति हो भन्ने कुरा आजसम्म कसैले पनि नापेको छैन, जसले राज्य स्तरीय चासोको अभाव स्पष्ट पार्छ।

    यद्यपि तालसम्म पुग्ने कालोपत्रे सडक निर्माण भइसकेको छ, तर पर्याप्त रूपमा पर्यटकहरूलाई आकर्षित गर्न आवश्यक आधारभूत पूर्वाधारहरू — जस्तै विश्राम स्थल, पर्यटक सूचना केन्द्र, शौचालय, फोहर व्यवस्थापन, होमस्टे सेवा जस्ता सुविधा अझै निर्माण भएको छैन। यसले तालमा पुग्न चाहने पर्यटकहरूको अनुभवलाई कष्टकर बनाइदिएको छ। स्थानीय सरकारले प्रयास नगरेको होइन, तर प्रदेश र सङ्घीय सरकारको समन्वय, बजेट तथा दीर्घकालीन योजना नहुँदा ठोस उपलब्धि हासिल हुन सकेको छैन।

    डोटीको लागि छतिवन तालसँगै यो क्षेत्रमा अवस्थित छहरा झर्ना र बासमती धान पहिचान हुन्। यी सबैको प्रवर्द्धन र संरक्षण गर्न सकिएमा जोरायल क्षेत्र प्राकृतिक, कृषि तथा धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रस्ट छ । तर स्थानीय र केन्द्र सरकारको यसमा ध्यान जान नसक्दा ओझेलमा परेको देखिन्छ ।

    सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्र हो। धार्मिक हिसाबले पनि यो तालले विशेष महत्त्व राख्न सक्छ। छतिवन तालको संरक्षण गरिएमा यसले सुदूरपश्चिमको धार्मिक तथा पारिस्थितिक पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने देखिन्छ । पर्यटकीय गन्तव्यहरूलाई सुदृढ र दिगो बनाउन आवश्यक बजेट, नीति तथा योजना अभावमा यस किसिमका स्थलहरू ओझेलमा पर्ने गरेको यो उदाहरण पनि हो।

    पर्यटकलाई आकर्षित गर्न सक्ने सबै आधारहरू रहँदा रहँदै पनि प्रचारप्रसारको कमजोर पक्ष, स्थानीय स्तरमा मात्र सीमित प्रयास र वैज्ञानिक अभिलेख अभावले छतिवन ताल जस्ता स्थलहरू अझैसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बन्नबाट वञ्चित छन्। प्रदेश सरकार र सङ्घीय सरकारले दीर्घकालीन दृष्टिकोणका साथ योजनाबद्ध रूपमा छतिवन तालको संरक्षण र प्रवर्द्धनमा हातेमालो गर्न सकेमा यो ताल न केवल डोटी जिल्लाको गर्व बन्नेछ, सुदूरपश्चिम प्रदेशकै पर्यटकीय मानचित्रमा सुनौलो अवसर बन्न सक्नेछ।