आर्थिक वर्ष २०८२– ८३ को बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार - Chaitanya News
  • 2026-07-05
  • 16:24:28
  • आइतबार,आषाढ २१, २०८३
  • आर्थिक वर्ष २०८२– ८३ को बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

    आर्थिक वर्ष २०८२– ८३ को बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

    धनगढी– सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२– ८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका विषयमा जुटेको छ।

    आज (बुधबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा लगायत विविध विषयमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरेका छन्।

    छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कार्यान्वयनयोग्य नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गरी सोको प्रतिवेदन १५ दिन भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिएका छन्।

    दीर्घकालीन महत्वका कार्यक्रमहरू र कार्यान्वयनको अवस्था, आयोजना बैंकको कार्यान्वयनको प्रारम्भ एवं आगामी वर्ष संस्थागत गर्ने विषय, आयोजनाको डिजाइन, डीपीआरमा एकरूपता कायम गर्ने विषय, चालु खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने, प्रदेशको आन्तरिक राजश्व बढाउने, विकासमा सुशासन, नागरिक सहभागिता एवं उपभोक्ता समितिको काम कारवाहीको प्रभावकारिता विषयमा छलफल भएको थियो।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि नागरिक जनजीवनसँग सम्बन्धित प्रभावकारी र नविनतम नीति, कार्यक्रम र आवश्यकतानुसार योजना छनौट गर्न मुख्यमन्त्री शाहले आग्रह गरे।