चालु आवको ९ महिनामा ३१ अर्बको तरकारी आयात - Chaitanya News
  • 2026-07-05
  • 16:34:45
  • आइतबार,आषाढ २१, २०८३
  • चालु आवको ९ महिनामा ३१ अर्बको तरकारी आयात

    चालु आवको ९ महिनामा ३१ अर्बको तरकारी आयात

    काठमाडौँ– भन्सार विभागले नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब बराबरको तरकारी आयात भएको जानकारी दिएको छ। साउनदेखि चैतसम्मको अवधिमा ३१ अर्ब ५२ करोड ९ लाख ४ हजार रुपैयाँको तरकारी आयात भएको विभागले जनाएको हो।

    सो समयावधिमा ४ करोड ८२ लाख १६ हजार रुपैयाँको तरकारी निर्यात पनि भएको छ। तरकारीमा नेपालले ३१ अर्ब ११ करोड २६ लाख ८८ हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांकले देखाएको छ ।

    सो अवधिमा सरकारले तरकारी आयात गर्दा ६ अर्ब ३ करोड ९२ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट आलु, ब्याज, फलफूल तथा हरियो तरकारीहरू आयात हुँदै आएको छ।

    उपत्यका छेउछाउका जिल्ला, भारत, चीन, भुटान लगायत विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत र अन्य क्षेत्रबाट १.४२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति भएको जनाएको छ। बाँकी नेपालका विभिन्न जिल्लाबाट तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ।