आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ : घनश्याम भूसाल - Chaitanya News
  • 2026-05-14
  • 04:42:35
  • बुधबार,बैशाख ३०, २०८३
  • आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ : घनश्याम भूसाल

    आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ : घनश्याम भूसाल

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन्। आज (मंगलबार) नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

    यस्तै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना समेत गरे।

    शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उनले सुरुमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे। ‘यत्रो आन्दोलन चलिरहेको छ। हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भूसालले भने। विद्या भट्टराईलाई २०४६ सालको आन्दोलनदेखि आफूले चिनेको भन्दै उनले भने, ‘इमानको साक्षी बस्ने महिला हो उनी। उनी निस्किएकी छन्।’
    अर्थतन्त्रमा संकट, व्यापारी व्यवसायीमा निराशा र जनअपेक्षा पूरा हुन नसकिरहेकाले सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन ११ गते एमालेले शक्ति प्रदर्शन गर्न लागेको भनेर पनि उनले आलोचना गरे

    ‘११ गते आई लभ यु केपी बा भन्ने रे भूसालले भने, ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो।

    देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे।

    ‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उनले भने, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो । तर पार्टी कस्तो छ भने एमाले जस्तो । यो अवस्था हुनु देशको दुर्भाग्य हो ।’

    एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे। उनले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए।

    ‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो। अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ। अरू लायक भए नालायकजस्तो देखिन्छ,’ भूसालले भने।

    कांग्रेसपछि भूसालले माओवादी केन्द्रको आलोचना गरे। माओवादी केन्द्रलाई उनले ‘लुकिङ लन्डन, टकिङ टोकियो’ शैलीको भनेर आलोचना गरे।

    उनले भने, ‘अर्को हाम्रो सहयात्री छ माओवादी। माओवादीको त सन्दर्भै मिल्दैन। माओवादबाट हेर्दा यसको वर्ग के देखिन्छ, भूराजनीति के देखिन्छ, केही पनि देखिन्न। लुकिङ लन्डन, टकिङ टोकियो देखिन्छ।’

    माओवादीले यो गणतन्त्र हामीले ल्याएको हो र हामीले नै उपभोग गर्नुपर्छ भन्ने गरेको बताउँदै भूसालले भने, माओवादीको आँखा सत्तातिर रहेको बताए। उनले भने, ‘मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ। झ्यालमा कहाँ बत्ती बोलेको छ त्यता हेर्छ। त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको।

    मधेशवादी दलहरूको पनि आलोचना गर्दै उनले क्षेत्रीय पार्टीले केन्द्रको समस्या समाधान गर्न नसक्ने जिकिर गरे।