स्वास्थ्य मन्त्री पौडेलले युएईमा घोषणा गरेको प्रतिबद्धता कार्यान्वयनमा - Chaitanya News
  • 2026-05-03
  • 15:01:00
  • आइतबार,बैशाख २०, २०८३
  • स्वास्थ्य मन्त्री पौडेलले युएईमा घोषणा गरेको प्रतिबद्धता कार्यान्वयनमा

    स्वास्थ्य मन्त्री पौडेलले युएईमा घोषणा गरेको प्रतिबद्धता कार्यान्वयनमा

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा घोषणा गरेको नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ।

    मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यही रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्ने गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेका हुन्।

    मन्त्री पौडेलले केही दिनभित्रै रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट फर्किएको स्वास्थ्य रक्षाका लागि निर्णय गर्ने घोषणा गरेका थिए। उनले यसका लागि युएईका स्वास्थ्य विभाग अध्यक्षसँग समेत वार्ता गरेका थिए।

    अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निस्शुल्क ओपिडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निस्शुल्क परीक्षण गराउन सक्ने छन्।

    यसैगरी, केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ। वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ।

    यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ।

    यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ।

    यी निर्णयहरू कार्यान्वयनमा आए पछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

    ‘‘